महन्थ ठाकुर बहुमत सांसद बटुलेर छलफलमा


ओकेजनता डेस्क
९ बैशाख २०७८, बिहीबार

काठमाडौं । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरुको बैठक बोलाएका छन् ।

जसपा नेपालमा आन्तरिक विवाद बढ्दै गएको बेला अध्यक्ष ठाकुरले आफ्नो पक्षको रणनीति बनाउनका लागि तत्कालीन राजपा नेपालका सांसदहरुको बैठक बोलाएका हुन् ।

सिंहदरबारमा जारी बैठकमा तत्कालीन राजपा नेपालकै सांसद महेन्द्र राय यादवलाई भने बोलाइएको छैन ।

महेन्द्रराय यादव उपेन्द्र यादवको पक्षमा गइसकेका हुनाले उनलाई बैठकमा नबोलाएको स्रोतले जनाएको छ । महेन्द्र राय यादवले आफूलाई बैठकको बारेमा जानकारी नरहेको प्रतिक्रिया दिए । बैठक पूर्वराजपा नेपालको संसदीय दलको कार्यालयको बैठक कक्षमा बसिरहेको हो ।

यस्तै तत्कालीन जसपा नेपालका कार्यकारिणी सदस्य अनिलकुमार झा उपत्यका बाहिर रहेको कारण बैठकमा छैनन् भने शरत सिंह भण्डारी बैठकमा सहभागी हुने भनेपनि यो समाचार तयार पार्दासम्म बैठकमा उपस्थित भएका छैनन् ।

ठाकुर केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव ओलीलाई समर्थन गर्न नहुने पक्षमा रहेका छन् ।

गत मंगलवार प्रधानमन्त्री अ‍ोलीसँग छलफल गरेपछि अध्यक्ष ठाकुरले माग पुरा भएपछि लिखित सहमति जनाउने प्रतिवद्धता जनाइ सकेको कारण त्यसको बारेमा रणनीति बनाउन आफ्ना पक्षका सांसदसँग छलफल गर्न लागि भएको बताइएको छ ।

सरकारमा जाने र नजानेमा दुई धार देखिएपछि जसपामा विवाद चर्किँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्