ओली–नेपाल आजपनि भेट्दै, प्रचण्डलाई ओलीले फोनमार्फत् यसो भने


ओकेजनता डेस्क
९ बैशाख २०७८, बिहीबार

काठमाडौं । लामो संवादहिनतालाई तोड्दै बुधबार भेटेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल भोलि पुनः भेट्ने भएका छन् । ओली र नेपालबीच आज काठमाडौंको मेरियट होटेलमा करिब दुई घण्टा छलफल भएको थियो ।

दुई नेताबीचको भेटवार्ताको विस्तृत विवरण आइसकेको छैन् । वार्ता स्थलमै रहेका प्रधामन्त्री ओलीका सल्लाहाकार मोतीलाल दुगडले नेताहरु फ्रफुल्ल देखिएको र वार्ता सकरात्मक भएको प्रतिक्रिया संवाददताहरुलाई दिएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली आफैंले पहल गरेपछि भेटवार्ता भएको हो । ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव राखेका थिए । नेता नेपालले भेट्ने तर साथमा झलनाथ खनाल पनि आउने प्रस्ताव ओलीसँग राखेका थिए । तर, अध्यक्ष ओलीले ‘वान टू वान’ कुराकानी गर्ने भनेपछि नेता नेपाल एक्लै भेट्न तयार भएका थिए ।

नेता नेपालले आफूले पहिले नै सार्वजनिक रुपमा बालुवाटार नजाने भनिसकेको भन्दै वार्ताका लागि बाहिर उपयुक्त हुने भनेपछि मेरियट होटेल रोजिएको थियो । दुई नेताबीच करिब दुई घण्टा कुराकानी भएको थियो । धेरैपछि ओली–नेपालबीच संवाद भएको भए पनि कुराकानीमा ओलीले आफूले गुट नमानन्ने र कुनै सर्त स्वीकार नगर्ने प्रष्ट शब्दमा भनेका थिए ।

‘माधव नेपालसँग भएको भेट पनि व्यक्तिगत भेटघाट हो, गुटगत होइन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा भन्छन्, ‘आजको भेटमा पनि प्रधानमन्त्रीले प्रष्ट शब्दमा गुट मान्दिनँ, कुनै सर्त मान्दिनँ भन्ने कुरा राख्नु भयो । तपाईंहरु सच्चिएर आउनुहोस्, पार्टीमा उचित स्थान तपाईंहरुलाई हुन्छ भन्नुभयो ।’

जवाफमा नेता नेपालले–आफूले टिममा छलफल गरेर सबै कुरा भन्ने बताएका थिए । नेता नेपालले टिममा छलफल गरेर आउँछु भनेपछि भोलि पुनः बस्ने समझदारी उनीहरुबीच भएको थियो । ओलीले नेता नेपालसँगको भेट सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि टेलिफोन गरेका छन् ।

नेकपा विघटनपछि प्रचण्डलाई ओलीको यो तेस्रो फोन हो । पुस ५ यता ओलीले पहिलो पटक प्रचण्ड पत्नि सिता दाहाललाई उपचारका लागि मेडिकेयर अस्पतलामा भर्ना गरेका बेला फोन गरेर स्वाथ्य लाभको कामना गरेका थिए ।

स्वास्थ्य अवस्था बुझ्न उनले नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेललाई अस्पतालमै पठाएका थिए ।
अदालतले नेकपाको एकता खारेज गर्दै एकीकरणका लागि नयाँ नाम लिएर आउन भनेपछि पनि प्रचण्डलाई फोन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्