एमाले : टुट्यो साथ, छुट्यो माया


ओकेजनता डेस्क
८ बैशाख २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका छन् ।

ओलीले नेता नेपालसहित उनी पक्षीय नेता तथा सांसदहरुलाई छानीछानी स्पष्टीकरण सोधेपछि विभाजनको संघारमा रहेको एमालेभित्र थप संकट पैदा भएको छ ।

ओलीले नयाँ राजनीतिक दलको रुपमा संलग्न भएको तथा एमालेको चुनाव चिन्ह र झण्डा दुरुपयोग गरेको आरोप लगाउँदै नेपाल लगायतलाई किन कारवाही नगर्ने भनेर सोधेका छन् ।

ओलीले मंगलबार नेताहरुलाई यस्तो प्रश्नसहितको स्पष्टीकरण सोधेपछि माधव नेपालसहितका नेता तथा सांसदहरुको छलफलले पार्टी फुटाउन ओली आफै लागि परेको भन्दै एमालेलाई फुटबाट जोगाउन संघर्ष जारी राख्ने निर्णय गरेको छ ।

‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्चाइ नयाँ राजनीतिक दलको रुपमा तपाईं संलग्न भएको गतिविधिमा नलागी नेकपा एमाले दलको पक्षमा आउने प्रतिवद्धता सहितको सप्रमाण जवाफ प्राप्त भएमा पार्टीले विचार गर्ने नै छ ।

यस सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा कुनै बखत कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ’, अध्यक्ष ओलीले हस्ताक्षर गरेर वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो पटक सोधेको स्पष्टीकरणमा भनिएको छ ।

मंगलबार २ दिने समय सीमासहित ओलीले नेता नेपालसहित २७ जना संघीय सांसदहरुलाई यस्तै व्यहोराको पत्र पठाएर कारवाही प्रक्रिया अघि बढाएका हुन् ।

ओलीले स्पष्टीकरण मागेपछि त्यसको जवाफ दिने तयारीमा नेता नेपालसहितका नेताहरु लागि परेका छन् ।

तर, स्पष्टीकरण सोधिएका नेताहरूबाट जस्तोसुकै जवाफ आएपनि ओलीले उनीहरुमाथिको कारवाही भने नरोक्ने तयारी गरेका छन् ।

‘त्यसबेला उनले चित्तबुझ्दो जवाफ नआएको दावी गर्नेछन् र सांसद पदबाटै निलम्बन गरेको घोषणा गर्नेछन्’, माधव नेपाल निकट एक नेताले रातोपाटीसँग भने, ‘ओलीलाई अनेक बहाना बनाएर पार्टी फुटाउनु छ । तर पार्टी फुटको अपजस माधव नेपाल लगायतलाई दिने नियत राखेकाले उनले जस्तोसुकै कारवाही गर्नसक्छन् तर त्यसको कुनै अर्थ छैन ।’

यसअघि नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई नेकपा एमालेको सदस्यबाट ६ महिना निलम्बन गरेका ओलीले अवको कारवाही भने संसदीय दलको नेताको हैसियतले गर्ने भएका हुन् ।

दलको नेताको हैसियतले ओलीले सांसदको हैसियतमा नरहने गरी निलम्बन गर्न सक्नेछन् । त्यसका लागि ओलीले नेकपा एमाले संसदीय दलको विधानलाई आधार बनाउने उनी निकट नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्