प्रधानमन्त्री ओलीबाटै नियमको उल्लंघन, यस्तो कारबाही हुनसक्छ !


ओकेजनता डेस्क
७ बैशाख २०७८, मंगलवार

काठमाडौं । नेपाली समाजमा एउटा उखान छ, ‘जो अगुवा उही बाटो…।’ मंगलबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा यही उखान चरितार्थ भयो । आफ्नै नेतृत्वमा जारी गरिएको आदेश प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिपल्टै ठाडो उल्लंघन गरेका छन् ।

बालुवाटारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट गर्न नपाइने स्वास्थ्य मापदण्ड बनाएको थियो । साँझ सरकारका प्रवक्ता पार्वत गुरुङले सो मापदण्ड सार्वजनिक गर्दै उल्लंघन गर्नेहरुलाई संक्रामक रोग ऐन अनुसार कानूनी कारवाही गरिने चेतावनी दिएका थिए ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यकै उपस्थितिमा मंगलबार बिहानै बालुवाटारमा तामझामका साथ २५ भन्दा बढी मानिसको उपस्थितिमा ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ को आयोजना गरियो ।

सरकारले सार्वजनिक गरेको आदेशमा वैशाख मसान्तसम्म प्रार्थनाबाहेकका धार्मिक समारोहहरू नगरिने भनिएको छ । तर, प्रधानमन्त्रीले उद्घाटन गरेको यो रथ यात्राका लागि बुधबार चितवनको देवघाटमा ८ सय र माडीमा १५ सय मानिसलाई भोजको व्यवस्था गरिँदैछ ।

सरकारी आदेशको उल्लंघन गर्दै मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्रीले पूजा गरेको ठाउँमा २५ भन्दा बढी मानिस सहभागी थिए । काठमाडौंदेखि चितवनसम्म गरिने रथयात्रामा तामझाम र भीडभाड अरु बढ्ने देखिएको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले जारी गरेको आदेशको चौथो नम्बर बुँदामा भनिएको छ, ‘मठ मन्दिर मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने÷गराउने ।’

त्यसैगरी आदेशको ६ नम्बर बुँदामा भनिएको छ, ‘मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने ।

सरकारले सोमबार जारी गरेको आदेशको १८ नम्बर बुँदामा भनिएको छ,‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएका मापदण्ड, योजना र आदेश संघीय निकाय, प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक तथा निजी संघसंस्थाले पालना गनुपर्ने ।’

सरकारी आदेश एवं स्वास्थ्यका मापदण्डहरु पालना भए÷नभएको अनुगमन गर्ने र कारवाही गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारी (सिडियो) लाई दिइएको छ । आदेशको २५ (क) मा मापदण्ड पालना नभएको पाइएमा सिडियोले अनुगमन गरी पालना गराउने भनिएको छ ।

मुख्यसचिव शंकरदास बैरागीद्वारा हस्ताक्षरित ८ पृष्ठ लामो आदेशको अन्त्यमा भनिएको छ, ‘यस आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ । यस आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पु¥याउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही र सजाय हुनेछ ।’

प्रश्न उठेको छ– मुख्यसचिवज्यू ! उसोभए आदेशको प्रथम उल्लंघनकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब के सजाय हुन्छ ? कि कानून जनतालाई मात्र लाग्छ ?

प्रतिक्रिया दिनुहोस्