नेकपाको गढ बन्दै बोगटान


ओकेजनता डेस्क
९ आश्विन २०७७, शुक्रबार

काठमाडौं । डोटीको बोगटान–फुड्सिल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लहर छाएको छ । नेकपाले जनहीतका सवालमा उल्लेख्य कार्य गरेपछि त्यहाँका जनताले रुचाएका छन् ।

स्थानीय तहमा भएका विकास निर्माण र सामाजिक कार्यले नेकपा प्रतिको मोह जनतामा छाएको हो ।

बिहीबार नेकपा बोगटान–फुड्सिल गाउँपालिका संगठन कमिटिको तेस्रो पूर्ण बैठकमा देखिएको जनताको उपस्थितिले स्थानीयस्तरमा नेकपा बलियो बन्दै गएको प्रमाणित भएको छ ।

सोही बैठकमा कांग्रेस परित्याग गरी स्थानीय जुझारु युवा रुद्र बम र अनिल बम नेकपा प्रवेश गरेका छन् । समाजको सकारात्मक भुमिकामा देखिएका युवाहरुको नेकपा प्रवेशले कांग्रेसप्रति जनता रुष्ट भएको देखिएको छ ।

विगतमा कांग्रेसको गढ मानिएको बोगटान त्यसमा पनि चवरा चौतारामा किसानको छोरा जनप्रतिनिधि भएर आएपछि जनताको अपेक्षा बढ्दै गएको छ । बोगटान–फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले पार्टीको उचाईलाई बोगटानमा बढाएका छन् ।

बिहीबारको बैठकमा नेकपा डोटी अध्यक्ष चक्र मल्लले जनताको हीतका लागि कहिल्यै नडगमगाउने प्रतिवद्धता जाहेर गरेका छन् । सरकारका कामप्रति प्रतिपक्षी दल कांग्रेस अत्तालिएको भन्दै अध्यक्ष मल्लले सुशासन र जनभावनामा नेकपा दृढ रहेको बताएका हुन् ।

कार्यक्रममा डोटी जिल्ला सचिव जंग बिकले नेकपा सर्वाहाराको पार्टी भएकाले जनताकै पिरमर्का बुझेर अगाडि बढेको बताएका छन् । ठूलो संगठनमा केहीका कमजोरी भएपनि उनीहरु आफै पाखा लागेर जाने बिकको दाबी थियो ।

चवरा चौताराको प्रशिद्ध मालिका मन्दिरमा भएको बैठकमा पार्टीले महत्वपूर्ण निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्