कोरोनाको नयाँ भेरियन्टमा यस्तो देखियो


ओकेजनता डेस्क
२ बैशाख २०७८, बिहीबार

काठमाडौं । गत वर्ष धेरै देशहरुसँग जस्तै हामीसँग पनि महामारीविरुद्ध लड्ने अनुभव थिएन । अहिले हामीलाई पहिलाभन्दा धेरै कुरा थाहा छ । यसका बाबजुद हामीबाट केही भुल भए ।

विशेषगरि गएका दुईतीन महिनामा भाइरस केही होइन रहेछ भन्ने मानसिकता विकास भयो । त्यसैको परिणामस्वरुप अहिले संक्रमण बढी देखियो ।

दैनिक संक्रमण दर १० प्रतिशतभन्दा बढी देखिन थालेकाले जोखिम बढेको बुझ्न सकिन्छ । सीमा नाका तथा समुदायस्तरमा गरिएको एन्टिजेन टेष्टको नतिजाले समुदायमा भित्रभित्रै संक्रमण बढेको प्रष्ट हुन्छ । अस्पतालहरुमा बढेको संक्रमितको संख्याले पनि आउँदै गरेको जोखिम अनुमान गर्न सक्छौं ।

संक्रमण बढ्दै गर्दा धेरैलाई सीमा नाकाको चासो छ । तर अहिले सीमा नाकाको रणनीति पहिले भन्दा फरक छ । पहिलेजस्तै नाकामै रोक्ने या छिर्न नदिने भन्दा नाकामा हेल्थ डेस्क राखेका छौं, जहाँ स्वास्थ्यकर्मीहरुले जोखिम या लक्षणको अवस्था हेरेर नेपाल छिर्ने मानिसहरुको व्यवस्थापन गरिरहेका छन् ।

नजिक घर हुनेहरुलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेर पठाउने गरिएको छ भने टाढा हुनेहरुलाई होल्डिङ सेन्टरमा राखिएको छ ।

विद्यालय, यातायातलगायतका भीडभाड हुने क्षेत्र चलिरहेको छ । त्यसमाथि दोस्रो लहरमा नयाँ भेरियन्टको संक्रमणले गर्दा जोखिम बढी छ ।

पहिलेको महामारीबाट हामीले सिक्यौं कि नाकामै रोकेर राख्दा वा आएजति सबैलाई क्वारेन्टिनमा राख्दा संक्रमण झन् फैलिने डर हुनेरहेछ । किनकी सबैलाई व्यवस्थापन गर्ने क्षमता हामीसँग छैन । त्यसैले औपचारिक नाकाबाट आएकालाई हेल्थ डेस्कको स्वास्थ्य जाँचका आधारमा व्यवस्थापन गरिरहेका छौं ।

अन्तर्राष्ट्रिय नाका पार गरेर नेपाल आउने सबैको एन्टिजेन टेष्ट गर्न पनि सम्भव छैन । किनकी सीमा नाका पास गरेर नेपाल आउनेहरुको अनुपातमा हेल्थ डेस्कमा स्वास्थ्यकर्मी छैनन् । सबैको टेष्ट गर्ने हो भने लामो लाइन लगाउनुपर्छ । गर्मीको समयमा धेरै बेरसम्म लाइन बसाउँदा अर्को समस्या पर्न सक्छ ।

सीमा नाकाको कुरा गर्दै गर्दा देशभित्र भएको संक्रमणबारे पनि बुझ्नुपर्छ । तुलनात्मक रुपमा पहिलेभन्दा बढ्दो छ र नयाँ भेरियन्ट पनि भेटिएको छ । र्‍याण्डम स्याम्पलिङ गर्दा पहिलेभन्दा नयाँ भेरियन्ट दुई तिहाई बढी मात्रामा देखिएको छ ।

संक्रामक रोगसम्बन्धी ऐनले रोकथाम तथा नियन्त्रणका लागि पालना गर्नुपर्ने मापदण्डहरु लागू गराउने भूमिका प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । उहाँहरुले जिल्लामा हुने भिडभाड, नारा जुलुसलगायतका गतिविधि कम गर्न भूमिका खेल्नुभयो भने कोरोना महामारीविरुद्ध लड्न सहज हुन्छ ।

त्यसैगरी स्थानीय तथा प्रदेश सरकारले केन्द्रले दिएको निर्देशन र गाइडलाइन अनुसार क्वारेन्टिन, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङ व्यवस्थित गरिदिए महामारीसँँग लड्न सजिलो हुन्छ । विगतबाट सिकेको पाठलाई आत्मसाथ गर्दै महामारीविरुद्ध लड्न सबै तह र क्षेत्रबीच सहकार्य आवश्यक छ ।

गतवर्ष महामारीविरुद्ध लड्न लकडाउन गरिएको थियो, जसका कारण मानिसको आवगमन कम भएकाले संक्रमण विस्तारै फैलिन्थ्यो । अहिले त संक्रमण हामीभित्रै छ । विद्यालय, यातायातलगायतका भीडभाड हुने क्षेत्र चलिरहेको छ । त्यसमाथि दोस्रो लहरमा नयाँ भेरियन्टको संक्रमणले गर्दा जोखिम बढी छ ।

प्रतिक्रिया दिनुहोस्