प्रधानमन्त्री ओली ३६४ दिन गयल !


ओकेजनता डेस्क
३१ चैत्र २०७७, मंगलवार

काठमाडौं । एक वर्षमा सामान्यतः ३६५ दिन हुन्छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओली एक दिनमात्र हाजिर भएका छन् ।

अर्थात्, उनी ३६४ दिन गयल भएका छन् । सम्भवतः यो नेपालको इतिहासकै अनौठो रेकर्ड हो । प्रतिनिधिसभा पुनःस्थापनापछि संसद बैठकमा प्रायः गयल भइरहेका प्रधानमन्त्री ओलीले २०७७ सालमा सिंहदरबारमा जम्माजम्मी एकचोटि पाइला टेकेका छन्, त्यो पनि प्रधानमन्त्रीको नियमित काममा लागि नभई पुरानो प्रधानमन्त्री कार्यालय भवनको उद्घाटनका लागि रिबन काट्न ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबार करिब साढे ३ किलोमिटरको दुरीमा छ । वर्ष दिनमा जम्मा एक दिन सिंहदरबार पुगेका प्रधानमन्त्री ओली मन्त्रिपरिषदको कार्यालय र आफ्नो कार्यकक्ष अवलोकन गरेर बालुवाटार फर्केका थिए ।

२०७८ सालको सुरुवाती दिनमा चाहिँ प्रधानमन्त्री ओली नयाँ वर्षको पहिलो दिन नै सिंहदरबार जाने भएका छन् । देशवासीलाई २०७८ सालको शुभकामना दिनका लागि बुधबार बिहान ८ बजे प्रधानमन्त्री ओली सिंहदरबारमा उपस्थित हुँदैछन् ।

अघिल्लो वर्ष चैत २ गते सिंहदरबारमा सार्क राष्ट्रका सदस्यबीच कोरोना रोकथामबारे भएको भिडियो कन्फ्रेन्समा सहभागी हुन सिंहदरबार पुगेका प्रधानमन्त्रीले त्यसपछि १० महिनासम्म सिंहदरबारमा पाइला टेकेनन् ।

प्रधानमन्त्री ओलीले गत बर्ष कोरोना संक्रमण सुरु भएयता बालुवाटारमै मन्त्रिपरिषदको बैठक राख्दै आएका छन् ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणापछि देश दौडाहाका क्रममा विभिन्न जिल्लामा पुगेर चुनावी भाषण गरेका प्रधानमन्त्रीले बालुवाटारबाट सिंहदरबार पुग्न जाँगर देखाएका छैैनन् । विभिन्न स्थानमा उद्घाटन र शिलान्यासका लागि पुग्ने गरेका उनलाई आफ्नै कार्यालय भने बिरानो भएको छ ।

अघिल्लो वर्ष फागुन २१ गते मृगौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओलीको सिंहदरबारको बाटो बन्दजस्तै भयो । उनी बालुवाटारमै उपचार गराइरहेका बेला कोरोनाको महामारी शुरु भयो । कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै लकडाउन शुरु गरियो । लकडाउन गर्दै देश बन्द गरेर उनले आफूलाई पनि बालुवाटारभित्रै बन्दजस्तै गरे ।

कोरोनालाई कारण देखाउँदै बालुवाटारबाट बाहिर ननिस्किए पनि प्रधानमन्त्रीले बालुवाटारमा भेटघाटका कार्यक्रमलाई भने निरन्तरता दिइरहे । बालुवाटारकै हलमा बेला–बेला पार्टीको बैठक तथा सरकारसँग सम्बन्धित बैठकहरू भए । भोजहरु र बाँसुरीबादन कार्यक्रमहरु पनि भए ।

प्रतिक्रिया दिनुहोस्