प्रधानमन्त्रीले बामदेवलाई यति ठूलो प्रस्ताव गरेपछि…


ओकेजनता डेस्क
३० चैत्र २०७७, सोमबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो जिम्मेवारी सुम्पिने तयारी गरिएको बुझिएको छ ।

यतिबेला संकटको बेलामा एमाले गुज्रिरहेको बेला बामदेवलाई साथमा लिएर अगाडि बढ्ने ओलीको रणनीति रहेको उनी निकट नेताहरु बताउँछन् । गौतम ओली खेमामा आए उनलाई रोजेको मन्त्रालय दिने पक्षमा प्रधानमन्त्री रहेको बुझिएको छ ।

प्रधानमन्त्री ओली र गौतमबीच बारम्बार फोन सम्वाद भइरहेको देखिएको छ । अहिलेको अवस्थामा एमालेमा ओली पक्षको वर्चस्व रहेको छ । प्रधानमन्त्री ओली केही खनाल–नेपाल पक्षका नेतालाई मिलाएर लैजाने पक्षका रहेका छन् ।

प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेको निर्णयलाई फिर्ता नगरुञ्जेल खनाल–नेपाल पक्ष सहमतिमा उने देखिदैन् ।

यता, सर्वोच्चबाट नेकपा एकता बदर भएपछि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश–२ को प्रदेशसभामा चार सांसद माओबादीमा नफर्किने बरु कारबाही भोग्न तयार हुने निर्णयमा पुगेका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरले सांसद पद गुमे पनि एमालेमै बस्ने बताएका छन् ।

शुक्रवार चारै सांसदलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ घण्टै स्पष्टीकरण सोधेका थिए । तर उनीहरु कोही पनि स्पष्टीकरणको जवाफ दिएनन् । सांसद मण्डलले भने, ‘स्पष्टीकरण बुझाउँदिन, कारबाहीबाट डराएको छैन ।’

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिए पनि कारबाही गर्ने भएपछि उनीहरु स्पष्टीकरणको जवाफ नदिने निष्कर्षमा पुगेका छन् । स्पष्टीकरण नबुझाएपछि सम्भवतः आजै उनीहरुले सांसद पद गुमाउनेछन् ।

झण्डै ६ महिनापछि प्रदेश–२ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा बैठकमा पनि सहभागी नहुने उनीहरुले बताएका छन् । साँसद मण्डलले भने, ‘म त प्रदेशसभा बैठकमा जादिनँ । साथीहरु पनि जानुहुन्न होला ।’

प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । जसमध्ये चार साँसद एमालेमा पुगेपछि माओवादी कमजोर बन्ने निश्चित छ । उनीहरुलाई पदमुक्त गरेमा माओवादीका मात्र ७ सांसद प्रदेशसभामा रहनेछन् ।

सांसद मण्डल माओवादी केन्द्रका संसदीय दलका नेता थिए । तर उनी एमालेमा पुगेपछि सांसद भरत प्रसाद साहलाई माओवादी केन्द्रले शुक्रवार नै संसदीय दलका नेता चयन गरिसकेको छ । आजको प्रदेशसभा बैठकमा साहले नै संसदीय दलका नेताको मान्यता पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्