प्रधानमन्त्री ओली यति हर्षित किन ?


ओकेजनता डेस्क
२८ चैत्र २०७७, शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस नयाँ सरकार गठन सम्भव नहुने करिब निष्कर्षमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय तत्काल पुरा नहुने निष्कर्षमा पुगेको बुझिएको छ ।

शुक्रबार माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँगको छलफलपछि काँग्रेस सभापति शेरबहादुर देउवाले करिब एक घण्टा आफूनिकट नेताहरुसँग छलफल गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पनि बूढानीलकण्ठबाट बाहिरिएपछि भएको उक्त छलफलमा आगामी रणनीतिबारे कुराकानी भएको स्रोतले रातोपाटीलाई जानकारी दियो ।

देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले सुरु देखिनै भन्दै आएको हो । हाम्रो नेतृत्वमा सरकार बन्ने परिस्थिति छैन । काँग्रेसको नेतृत्वमा सरकार बन्न निर्वाचनको विकल्प छैन । महन्थ ठाकुर गठबन्धन बनाउन होइन यहाँ देखिन मात्र आउनुभएको देखियो नि !’

स्रोतका अनुसार देउवाले निर्वाचनको माहोल निर्माणका लागि आन्तरिक रुपमा जोडदिन नेताहरुलाई आग्रह गरेका थिए । सत्ता समीकरणको विषयका कारण बैठक नै बस्न नसक्ने अवस्थामा पुगेको जसपाले एकमतका साथ गठबन्धनका लागि राजी हुनेमा देउवालाई विश्वास नै छैन । अर्कोतिर वरिष्ठ नेता पौडेलबाहेकका शीर्षस्थ नेता सत्ताको खेल बाहिरै देखिन्छन् ।

देउवाले शुक्रबार एक कार्यक्रमा आफू सत्ताको खेलमा नभएको भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका थिए । यसबाटै प्रष्ट हुन्छ काँग्रेसभित्र नयाँ सरकार निर्माण भन्दा पनि ‘अर्ली इलेक्सन’ को राप उठेको छ ।

उक्त कार्यक्रममा देउवासँग उपसभापति विमलेन्द्र निधिले पनि सरकार निर्माणको कुरा यथार्थ धरातल बाहिर भएको बताएका थिए । काँग्रेसभित्र सरकारको विकल्प खोज्नुपर्छ भन्नेमा एकमत भए पनि तीन दल एक ठाउँमा आउनेमा अझै द्विविधा छ ।

काँग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले रातोपाटीसँग भने, ‘माओवादी केन्द्रले अहिलेसम्म समर्थन फिर्ता नै लिँदैन, यता अहिले पनि जसपाको एउटा घटक नयाँ सरकार निर्माणमा इच्छुक देखिएको छैन । काँग्रेसको नेतृत्वमा सरकार बन्छ÷बन्दैन, द्विविधा नै छ ।

हिजो उहाँहरु (जसपाका नेता) हाम्रो प्रस्ताव सुनेर फर्किनुभयो । बैठक सकरात्मक नै भए पनि परिणाममुखी भने देखिएन ।’ यही द्विविधाले गर्दा प्रधानमन्त्री ओलीले संसद विघटन गरेर फेरि चुनाव घोषणा हुन सक्ने महतले सम्भावना औँल्याए ।

तीन दलबीच सहकार्य नहुनुमा चुनावमा जाने रुची र जसपाका निलम्बित सांसद रेशम चौधरीको रिहाइमा सम्झौता नगर्ने काँग्रेसको अडानले समस्या खडा भएको बुझिएको छ ।

माओवादी केन्द्र दुई वर्षअघि चुनावमा जाने मुडमा छैन भने जसपाले चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ । यी दुई विषयमा सम्झौता गर्नु काँग्रेसका लागि प्रतिकुल हुने महतले संकेत गरेको बुझ्न गाह्रो छैन ।

‘नेपाली काँग्रेसले आगामी निर्वाचनलाई केन्द्रविन्दुमा राखेको छ । यो संसद पूरै अवधि चले पनि डेढ वर्ष बाँकी छैन,’ सभापति देउवाको पथमिकता सुनाउँदै महतले भने, ‘डेढ वर्षसम्म चल्ने÷नचल्ने ठेगान छैन । त्यसैले, आगामी चुनावको तयारी गर्ने र एक्लै सरकार बनाउने हाम्रो मूल उद्देश्य हो । हामी हाम्रो नेतृत्वबाहेक चुनावमा जाँदैनौँ भन्दैनौँ ।’

पुस ५ मा प्रतिनिधिसभा विघटन यता सभापति देउवा र उनी निकट नेताबाट आइरहेका धारणाले काँग्रेसलाई सरकारको नेतृत्वभन्दा पनि निर्वाचन चाहिएको प्रस्टै छ ।

प्रतिक्रिया दिनुहोस्