देउवाले ओलीको लात प्रचण्डलाई निरन्तर भन्दा जसपाले यसो भन्यो


ओकेजनता डेस्क
२८ चैत्र २०७७, शनिबार

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर वैकल्पिक सरकार गठन गर्न नेपाली काँग्रेस अघि सरेको छ ।

नयाँ सरकार गठनको पहल स्वरुप शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँगको छलफलमा काँग्रेसले वैकल्पिक सरकार गठनको विकल्प नभएको भन्दै तीन दल मिलेर अघि बढ्न आग्रह गरेको हो ।

काँग्रेस सभापति देउवा ओली सरकारप्रति नरम रुपमा प्रस्तुत हुने गरेको आरोप पार्टीभित्र र बाहिरबाट लाग्दै आएकोमा पछिल्लो समय उनको सक्रियता र अभिव्यक्ति ठीक विपरित देखिएको छ ।

यस्तै आजको छलफलले वैकल्पिक सरकार निर्माणको पहलले गति लिएको बुझिएको छ । जसपा सहमतिमा आए यो पहलले सार्थकता पाउने देखिएको छ भने जसपामाथि निर्णय लिन दवाव समेत बढेको छ ।

शुक्रबार मात्रै पार्टी निकट निजामति कर्मचारी युनियन संघको कार्यक्रममा देउवाले ओली सरकारको विकल्प खोज्नुपर्ने भन्दै कडा अभिव्यक्ति दिएका थिए । सभापति देउवाले २०७४ को निर्वाचनपछि आफूले प्रचण्डलाई प्रधानमन्त्री बन्न गरेको आग्रह नमान्दा अहिले उनलाई ओलीले लात हानेको बताएका थिए ।

‘मैले प्रचण्डलाई तपाई नै प्रधानमन्त्री बन्नु भनेको हो तर उनी उता गइदिए । तपाईं नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले । बल्ल थाहा पाए प्रचण्डले अहिले आएर’, उनको भनाइ थियो ।

‘धेरै पटक प्राइमिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई ? तपाईहरुलाई थाहा छ नि । खुट्टै नटेक्ने मान्छे । ओलीले लात हानेपछि ठिक्क भएको छ । अहिले म आफू प्राइमिनिस्टर हुन चाहेको पनि छैन । जो सुकै होस्’, सभापति देउवाको थप भनाइ थियो ।

आजको बूढानीलकण्ठ बैठकको सुरुमै देउवाले पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयबारे जानकारी गराउँदै वैकल्पिक सरकार बनाउनेबारे पहल गर्न र काँग्रेसलाई माओवादी र जसपालाई आग्रह गरेका थिए । देउवाले पार्टीले काँग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि आफू अरुको नेतृत्वमा सरकार बन्छ भने त्यसमा पनि तयार रहेको धारणा राखेका थिए ।

तर सो छलफलमा जसपाले भने स्पष्ट कुरा नगरेको नेताहरुको भनाइ छ । ‘नयाँ सरकार गठनबारे नखुलेको काँग्रेस अब ओली सरकारलाई हटाउनै पर्ने पक्षमा प्रष्ट भएको छ, तर जसपाको आजको बैठकमा प्रष्ट कुरा आएन’ बैठकपछि एक नेताले भने, ‘जसपाको ग्रीन सिग्नल आएमा ओली सरकारको विकल्प तत्काल हुने देखिन्छ, अहिले हलो अड्काउने काम जसपाबाट भएको छ ।

प्रतिक्रिया दिनुहोस्