बृद्ध आमाबुवालाई छोडे तीन वर्ष कैद, यस्तो बन्यो कानून


ओकेजनता डेस्क
२७ चैत्र २०७७, शुक्रबार

काठमाडौं । गत सोमबार प्रहरीले नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयकी निर्देशक सुष्मा रिमाललाई पक्राउ ग¥यो । उनलाई अरू कसुरमा होइन, सम्पत्ति लिएर आफ्नी आमालाई बेवास्ता गरेको कसुरमा प्रहरीले समातेको हो ।

सम्पत्ति लिएको तर हेरचाह नगरेर बेवास्ता गरेको भन्दै ८४ वर्षीया आमा शोभा रिजालले दिएको उजुरीका आधारमा सुष्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । छोरीले तीन करोडभन्दा बढी सम्पत्ति हत्याएर आफूलाई उचित हेरचाह नगरेको दावी शोभाले गरेकी छन् ।

डेढ वर्षअघि आफ्ना पति मरेपछि शोभा छोरीसँगै बस्ने गरेकी थिइन् । आफ्ना पति र आफ्नो संयुक्त खातामा सुनचाँदीसहित तीन करोड रूपैयाँ र वित्तीय संस्थाका सेयरहरू झुक्याएर आफ्नो नाममा पारेको भन्दै शोभाले उजुरी गरेको प्रहरीले जनाएको छ ।

ज्येष्ठ नागरिक ऐनविरूद्धको कसुर गरेकाले आफ्नी छोरीलाई कारबाही गर्न शोभाले माग गरेकी छन्। नौ महिनाअघि उनको उजुरी प्रहरीमा परेपछि छोरी सुष्माले अदालतबाट आफूमाथि कारबाही नगर्न स्टे अर्डर लिएर आएकी थिइन् ।

वृद्ध–वृद्धाले आफ्नो सम्पत्ति खोस्ने र हेरचाह नगर्ने आफन्तविरूद्ध दिएको सम्भवत यो पहिलो जाहेरी हो । महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधीवक्ता तथा प्रवक्ता सन्जीवराज रेग्मीले ज्येष्ठ नागरिक ऐन अनुसारको कसुर गरेको भन्दै यसअघि उजुरी वा मुद्दा परेको आफूलाई थाहा नभएको बताए ।

वृद्ध–वृद्धाको हकअधिकार संरक्षण गर्न भन्दै २०६३ सालमा ज्येष्ठ नागरिक ऐन बनेको थियो । उक्त ऐनले उनीहरूको सम्पत्ति लिने बदनियत राखी कुनै काम गर्नुलाई फौजदारी कसुर मानेको छ ।

ज्येष्ठ नागरिक ऐनको दफा २६ मा यस्तो कसुर गर्नेलाई दण्ड–सजाय व्यवस्था छ । उक्त दफाको उपदफा १ मा भनिएको छ– हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रका प्रमुख, सञ्चालक, कर्मचारी वा अन्य कुनै व्यक्तिले ज्येष्ठ नागरिकको सम्पत्ति लिने बदनियतले कुनै काम गर्नु, गराउनु हुँदैन ।

यसमा अन्य कुनै पनि व्यक्ति भन्नाले संरक्षक, छोरा वा छोरी जो पनि हुन सक्ने सहन्यायाधिवक्ता रेग्मीले बताए । उनीहरूको सम्पत्ति बदनियतपूर्वक लिने काम गरेमा कसूरको मात्रा अनुसार एकदेखि पाँच वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुनेछ । सुष्मालाई पनि यही कानुनअनुसार सजाय हुन सक्छ ।

बाबुआमाको सम्पत्ति बदनियतपूर्वक हडप्ने मात्र होइन, उनीहरूलाई पालनपोषण नगर्ने छोराछोरीलाई सजाय हुन्छ । उचित पालनपोषण नगरेमा स्थानीय तहले दिने सिफारिस पाइने छैन भने परित्याग गरेमा कैदसम्म हुने कानुनी व्यवस्था छ । ज्येष्ठ नागरिक ऐन र मुलुकी अपराध संहिताले यस्ता व्यवस्थाहरू गरेका छन् ।

ज्येष्ठ नागरिक ऐनले उनीहरूको हकको सुरक्षाका लागि पाँच प्रबन्ध गरेको छ । पहिलो, ज्येष्ठ नागरिकहरूको पालनपोषण र हेरचाह परिवारको प्रत्येक सदस्यले गर्नुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्