बाख्रा चराउन जाँदा बलात्कृत, शरिर नग्न अवस्थामा


ओकेजनता डेस्क
८ आश्विन २०७७, बिहीबार

काठमाडौं । बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कारपछि उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । मृत अवस्थामा फेला परेकी बालिकाको शरिरमा रगत बगेको छ । टाउकोमा पनि गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

ती बालिका बुधबार राति गाउँको मन्दिर नजिक मृत फेला परेकी हुन् । मृतक बालिकाका आफन्तका अनुसार उनी बुधबार बिहान बाख्रा चराउन गएकी थिइन् । सोही दिन साँझ सम्म बालिका घर नफर्केपछि आफन्तले खोजी गरेका थिए ।

बालिका राति ८ बजे मन्दिर नजिक मृत फेला परेकी थिइन् । घटनाको प्रकृति हेर्दा बलात्कार पछि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपाया बाँध्न सिमछानामा गएकी बालिका अबेरसम्म घर नआएपछि उनको खोजी भएको थियो ।

घरभन्दा करिब २ किलोमिटर नजिक पर्ने सिम मन्दिरमा उनको शव फेला परेको मृतकका बाजे गोरख कामीले जानकारी दिए ।

मृतक बालिकाको शरीर भरी निलडाम भएकाले हत्या भएको आशंका गरिएको छ ।

नग्न अवस्थामा शव फेला परेको वडा नम्बर २ का वडाध्यक्ष शेरबहादुर खड्काले जानकारी दिएका छन् ।

बालिकाका बुबाआमा रोजगारीका लागि भारतमा छन् । यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काको नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । डीएसपी खड्काका अनुसार बालिकाले कानमा लगाएको मुन्द्रा समेत छैन ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्