यसकारण प्रधानमन्त्री ओली शक्तिशाली, गुम्दैन सरकार !


ओकेजनता डेस्क
२४ चैत्र २०७७, मंगलवार

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएको लामो समयसम्म नयाँ सरकार गठन प्रक्रियामा राजनीतिक दलहरु अलमलिएका छन् । विपक्षी दलहरु अलमलमा पर्दा बहुमत गुमाउने स्थितिमा पनि ओली सरकारको आयु लम्बिएको छ ।

नयाँ सरकार गठन प्रक्रियाले गति नलिनुमा माओवादीले काँग्रेस र जसपालाई देखाइरहेको छ । जसपाले काँग्रेस र माओवादीलाई देखाइरहेको छ । काँग्रेसले भने माओवादी र जसपालाई देखाएर समय गुजारिरहेको छ ।

विकल्पमा रहेका र मैदानमा पुगेका दलहरूको यस्तो निम्छरो प्रस्तुती र अलमलले नयाँ सरकार गठनमा अन्योल उत्पन्न भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा उक्त कदम प्रतिगामी भन्दै संघर्ष गरेका तीन दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाबीचमै तालमेल नमिल्दा ओली थप शक्तिशाली भइरहेका छन् ।

यतिसम्म कि प्रधानमन्त्री ओली र उनी समर्थक नेताहरुले नै सरकारलाई दिएको समर्थन फिर्ता लेऊ भनेर पटक–पटक भन्दा पनि माओवादीले समर्थन फिर्ता गर्न सकेको छैन ।

ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार गठन गर्न दलहरुबीच छलफल, सम्वाद र गृहकार्यहरु नभएका भने होइनन् । तर, भएका छलफल र सम्वादमा उनीहरुबीच ठोस सहमति जुट्न सकस पर्दा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा परेको हो ।

नेकपा विभाजनसँगै अल्पमतमा परेको ओली नेतृत्वको सरकारको विकल्पमा गठन गर्ने नयाँ सरकारबारे प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी (जसपा) बीच गठबन्धन बनाएर अघि बढ्ने भनिए पनि एकले अर्कोलाई देखाउँदै नेताहरु पन्छिरहेका छन् ।

आफू सरकारको नेतृत्व नगर्ने बताएको माओवादी केन्द्रले काँग्रेसलाई सरकारको नेतृत्व लिन बारम्बार आग्रह गरिरहेको छ । त्यसका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर विभिन्न चरणमा छलफल गरे पनि परिणाम आउन सकेको छैन ।

देउवा र पौडेलमात्रै होइन, प्रचण्डले समेत जसपा नेता डा. बाबुराम भट्टराईसँग समेत नयाँ सरकार गठनबारे दुई चरणमा छलफल गरेका छन् । भट्टराई ओली सरकार विस्थापन गर्नुपर्ने पक्षमा छन् । तर, जसपाभित्रै यसबारे दुईलाइन संघर्ष चलिरहेको छ ।

पछिल्लोपटक नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरे पनि ठोस पहलकदमी अघि बढाइनसकेकाले अन्योल उत्पन्न भएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन् ।

काँग्रेस र जसपा दुवै पार्टी तयार भएपछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने पक्षमा माओवादी केन्द्र उभिएको छ ।

‘नेपाली काँग्रेस र जनता समाजवादी (जसपा) दुवै पार्टी तयार भएपछि मात्रै अविश्वासको प्रस्ताव सफल हुन सक्छ’, प्रवक्ता श्रेष्ठ दुवै पार्टी तयार नभएसम्म समर्थन फिर्ता र अन्य प्रक्रिया अघि बढाउनुको अर्थ नहुने बताउँछन् ।

नेता श्रेष्ठले नेपाली काँग्रेसले नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरे पनि त्यसका लागि ठोस पहलकदमी अघि बढाएको नदेखिएको बताए ।

‘नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले भर्खरै सरकार गठनको पहल गर्ने औपचारिक निर्णय त गरेको छ । तर, काँग्रेसले आफ्नो नेतृत्वमा जुन प्रकारको सरकार बनाउन पहलकदमी चाहिन्छ, त्यस्तो पहल गरेको जस्तो अनुभुति पाइँदैन,’ माओवादी प्रवक्ता श्रेष्ठ भन्छन्, ‘उहाँहरुले नै त्यो प्रक्रिया अगाडि बढाउनुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्