कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले राजीनामा दिदै, प्रदेश १ म यस्तो भयो


ओकेजनता डेस्क
२३ चैत्र २०७७, सोमबार

काठमाडौं । कर्णाली प्रदेश संसदीय दल बैठकले सरकारमा सहभागी भएका मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा दिन भनेसँगै माओवादी नेतृत्वको सरकार धरापमा परेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै माओवादी अल्पमतमा पर्छ ।

संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मार्गप्रशस्त गर्न अनुरोध गर्ने निर्णय आइतबार नै गरिसकेको छ ।

यस्तै संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई २४ घण्टाभित्र राजीनामा दिन भनिसकेको छ ।

एमाले कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजंग शाहले मन्त्रीहरूले सोमबारसम्म राजीनामा दिने प्रतिबद्धता जनाएको जानकारी दिए ।

यसैबीच, प्रदेश १ मा अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ । प्रदेश १ सभाको सोमबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइने भएको हो ।

प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सोमबार बस्ने प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव फिर्ता लिने बताएका छन् ।

तत्कलीन नेकपा हुँदा राईविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको भएपनि सो पार्टी खारेज भएर एमाले–माओवादी बनेपछि प्रस्ताव पनि अलपत्र परेको थियो । केही दिनअघि मात्रै एमालेका माधव नेपाल पक्षले हस्ताक्षर फिर्ता लिएसँगै माओवादी पनि पछि हटेको हो ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरका बहुसंख्यक प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिइसकेकाले अब यसको औचित्य नभएकाले फिर्ता लिन लागिएको आङ्बोको भनाइ छ ।

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आङ्बोले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा पुस १२ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्