प्रधानमन्त्री बन्न देउवा दौडधुपमा, बाबुरामले यस्तो भने


ओकेजनता डेस्क
२२ चैत्र २०७७, आईतवार

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि नयाँ सरकार गठनका लागि ‘किङमेकर’को बनेको जनता समाजवादी पार्टी (जसपा) ले भावी प्रधानमन्त्रीमा दाबी शुरु गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउने निर्णय लिएकै बेला जसपाले पनि प्रधानमन्त्रीका लागि दाबेदारी शुरु गरेको हो । शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकबाट लिइएको उक्त निर्णयप्रति जसपाले असन्तुष्टिसमेत जनाएको छ ।

शुक्रबार राति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । तर, कांग्रेसको निर्णयमा जसपा नेताहरुले असन्तुष्टि जनाएका छन् ।

सरकार गठनमा संसदमा अंक गणितीय हिसाबले ‘किङमेकर’ बन्न पुगेको जसपाका नेताहरु आफैं सरकारको नेतृत्व गर्ने बताउन थालेका छन् ।

सत्ता समीकरणबारे छलफल गर्न आइतबार बिहानै हात्तीवनस्थित निवासमा आइपुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जसपा अध्यक्ष महन्थ ठाकुरले प्रश्न गरे, ठाकुरले पौडेलसँग भने, ‘गठबन्धनको सरकार बनाउने भन्ने, अनि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भनेर निर्णय दिने ? गठबन्धनको सरकारका लागि तीन दलसँग बसेर निर्णय लिनुपर्ने होइन र ?’

जसपाका अर्का नेता राजेन्द्र महतोले पनि सरकारको नेतृत्व जसपाले नै गर्ने दाबी गरेका छन् । आइतबार रातोपाटीसँग कुरा गर्दै महतोले अब जसपा कसैको नेतृत्वमा सरकारमा नजाने, आफैंले सरकारको नेतृत्व गर्ने बताए ।

प्रतिनिधिसभाको वर्तमान अंक गणित हेर्दा राजपा दुबै हातमा लड्डु बोकेर बसेको छ । ओली वा देउवा दुबैतिर सरकार गठनका लागि जसपाको साथ नभएसम्म बहुमत पुग्दैन । यही अवस्थालाई बुझेर जसपाले आफैं प्रधानमन्त्रीको दाबी गर्न थालेको हो ।

विगतमा प्रतिनिधिसभामा २० सीट रहेको राप्रपाले यसैगरी ठूला दललाई ट्रयापमा पारेर पटक–पटक प्रधानमन्त्री पाएको थियो ।

प्रतिनिधिसभामा १२१ सांसद रहेका केपी ओलीका लागि विश्वासको मत सिद्ध गर्न मात्र १७ सांसद चाहिएको छ । त्यसका लागि सके सग्लो जसपाको समर्थन लिने, नसकेमा फुटाएर भए पनि वैकल्पिक गठबन्धन बनाउन नदिने ओलीको रणनीति देखिन्छ । सोहीअनुसार जसपाको ठाकुर पक्षसँग प्रधानमन्त्री ओलीले संवाद बढाइरहेका छन् ।

ओली इत्तर गठबन्धनको सरकार बनाउन काँग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ५३ (चारजना एमालेतिर लागेका) र जसपाका ३४ (दुई निलम्बित) सांसदको मत चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्