माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिदै


ओकेजनता डेस्क
२२ चैत्र २०७७, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी गरेको छ । माओवादीका एक नेताले समर्थन फिर्ता लिन अब ढिला गर्न नहुने अवस्था आएकाले पार्टीले सोहीअनुसार निर्णय गर्ने बताए ।

उनका अनुसार सोही विषयमा छलफलका लागि आइतबार पार्टी स्थायी समितिको बैठक बोलाइएको छ । काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको हो ।

माओवादीले काँग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल हुने जानकारी दिए । बैठक बिहान ११ बजेपछि बस्नेछ ।

शनिबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेका थिए । शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले घनिभूतरुपमा छलफल अगाडि बढाउने बताएका हुन् ।

सम्भवत छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी छ । उनको भनाइ छ, ‘नयाँ परिस्थिति बन्ने छ । सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ ।’ यस्तै प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरेका छन् ।

उनको भनाइ छ, ‘नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग्ने र अर्को सरकार गठनका निम्ति पहल लिने भनेर निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ ।’ नयाँ सरकार गठनका लागि तुरुन्तै पहल लिनुपर्ने सुझाव आएको पनि उनले खुलासा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्