एमाले मिल्न गर्नैपर्ने तीन आधार


ओकेजनता डेस्क
२१ चैत्र २०७७, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई कारवाही गरेपछि एमाले करिब-करिब फुटको अवस्थामा पुगेको छ ।

प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलका रुपमा रहेको नेकपा एमाले अहिले ओली पक्ष र खनाल–नेपाल पक्षमा ध्रुवीकृत देखिन्छ । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि उत्तरार्द्धमा यस प्रकारकै ध्रुवीकरण देखिएको थियो ।

सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काएपछि तत्कालीन नेकपामा देखिएको ध्रुवीकरणकै छायाँ एमालेमा देखा परेको हो ।

तत्कालीन नेकपामा ओलीविरुद्ध प्रचण्डलाई साथ दिएका झलनाथ खनाल, माधवकुमार नेपाल लगायत एमाले पृष्ठभूमिका नेताहरु सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेमै फर्किए । तर पार्टी पूर्ववत् अवस्थामा फर्किए पनि विवाद नयाँ–नयाँ ढंगले सतहमा आइरहेका छन् ।

एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले एमालेभित्रै ‘ओली प्रवृत्ति’विरुद्ध खुला संघर्ष गर्न थालेका छन् भने ओली उनीहरुमाथि कारवाहीमा उत्रिएका छन् ।

ओलीले कारवाही गरेपछि खनाल–नेपाल पक्षले विभिन्न भ्रातृ संगठन र केही जिल्लामा समानान्तर कमिटी गठन गरेको छ । केन्द्रमा पनि भेला–बैठक जारी छन् । यी गतिविधिलाई दुवै पक्षका नेतृत्वले आफ्नो अनुकुल व्याख्या गरे पनि कार्यकर्तापंक्ति भने पार्टी विभाजन हुने चिन्तामा छन् ।

लुम्बिनी प्रदेश नेकपा एमालेको राम्रो प्रभाव भएको प्रदेश हो । त्यसमा पनि रुपन्देही जिल्लामा विष्णु पौडेल र घनश्याम भुसालजस्ता नेताप्रति कार्यकर्ताले निकै आश गर्ने गरेका छन् । तर पार्टी दुई ध्रुवमा विभाजित भएपछि पौडेल ओली पक्षमा र भुसाल भने खनाल–नेपाल पक्षमा लागेका छन् । रुपन्देहीका अगुवा कार्यकर्ता एमाले अध्यक्ष ओली र माधवकुमार नेपालले पार्टी एकतालाई कायम राख्न पहल गर्नुपर्नेमा जोड दिन्छन् ।

उनीहरु पार्टीका दुवै खेमाले केही गल्ती गरेको भन्दै दुवै पक्षलाई ती गल्ती सच्याउन आग्रह गरिरहेका छन् । पार्टी एकता बचाउनका लागि रुपन्देहीका अगुवा कार्यकर्ताहरूले ओली र नेपाललाई रातोपाटीमार्फत दिएका सुझाव यस्ता छन्–

घरमूली राम्रो भएमा मात्र त्यो घर–परिवार राम्रो बन्न सक्छ । पार्टीलाई राम्रो बनाउनका लागि अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित अन्य नेताहरुलाई उनीहरुको तहअनुसार पार्टीमा सम्मान दिनुपर्छ ।

पार्टीभित्र अध्यक्षले आफ्नो गुटका मात्र कार्यकर्तालाई जिम्मेवारी दिने अरुलाई पाखा लगाउँदै पार्टीलाई मरिचजस्तो बनाउनु भएन । माधव नेपाल पक्षधरका कार्यकर्ताहरूलाई पनि समेट्नुपर्छ ।

अदालतले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएसँगै पहिलाको नेतृत्वमा बसेका साथीहरुलाई पूर्ववत् जिम्मेवारी दिनुपर्छ । अनि सबैलाई पार्टीभित्र आफ्नोपनको महसुस गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्