गण्डकी प्रदेशका ओली निकट कार्यकर्ताको यस्तो सुझाव, एमालेमा खुसी


ओकेजनता डेस्क
२१ चैत्र २०७७, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता कार्यकर्ताहरूले शीर्ष नेताहरुलाई आपसमा सहमति कायम गरेर पार्टीमा देखिएका अन्तरविरोधलाई समाधान गर्न सुझाव दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेतामाथि गरेको कारवाहीलाई केहीले स्वाभाविक भएको जिकिर गरेका छन् भने कतिपयले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउने नेतालाई कारवाहीको नाटक रचेर ओली समग्र कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने बाटोमा अघि बढेको आरोप लगाएका छन् ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पहिलो चरणमा पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका ओलीले गत बिहीबार नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई समेत कारवाही गरेपछि एमालेमा आन्तरिक विवाद झन् उग्र बनेको छ ।

अध्यक्ष ओलीले कारवाही गरेको दुईदिन बित्न नपाउँदै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र सुरेन्द्र पाण्डे पोखरा आएर कास्कीसहित गण्डकी प्रदेश कमिटी र प्रदेशका ९ जिल्लामा पार्टीको समानान्तर कमिटी गठन गरेका छन् ।

बिहीबार कास्कीमा गठन गरिएको ७५ सदस्यीय कमिटीको अध्यक्षमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपाली छन् । गण्डकीका ११ मध्ये ९ जिल्लामा समानान्तर कमिटी बनाएसँगै उनीहरुले ओलीको तानाशाही प्रवृत्तिविरुद्ध स्थानीय तहदेखि जिल्ला,प्रदेश र केन्द्रसम्मै समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी पार्टी ब्युँतिनेगरी फैसला गरेपछि एमालेका शीर्ष नेताहरुबीच आन्तरिक कलह चर्कंदै गएको हो । दुवैपक्षका बीचमा एकले अर्कोलाई निषेध गर्नेगरी राजनीतिक गतिविधि हुन थालेपछि नेता कार्यकर्ताहरु पार्टी पंक्ति सच्चिएर अगाडि बढ्नुपर्ने बताउँछन् ।

कास्कीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य एवं प्रजातान्त्रिक राष्ट्रिय युवासंघका नेपालका पूर्व अध्यक्ष राजिव पहारीले पार्टीमा पछिल्लो समयमा देखिएको विवादलाई नेतृत्व तहले बेलैमा समाधान गर्नुपर्ने बताए । उनले पार्टीमा देखिएको विवाद सैद्धान्तिक र वैचारिक नभएको पनि प्रस्ट पारे । उनले भने, ‘यो त केही नेताको नितान्त व्यक्तिगत स्वार्थ र प्रतिशोधको भावनाले बढेको विवाद हो । यसले यो वा त्यो कुनै पक्षलाई पनि फाइदा गर्दैन ।’

सांसद पहारीले पार्टीको महाधिवेशनबाट केपी ओलीलाई पाँच वर्षका लागि निर्वाचित गरेको भए पनि निर्वाचित नेतृत्वलाई बीचमै माधव नेपाल पक्षले हटाउन खोजेका कारण पार्टीमा विवाद चर्किएको बताए ।

‘उहाँहरुले ५ वर्षका लागि निर्वाचित भएको नेतृत्वलाई बलजफत बीचमा हटाउन मिल्दैन,’ उनले भने, ‘अध्यक्ष ओलीलाई हटाउन महाधिवेशन कुर्नुपर्छ । महाधिवेशनमा बहुमतबाट उहाँहरुले हटाउन सक्नु हुन्छ । व्यक्तिगत स्वार्थ र कुण्ठा साँध्न बीचमै हटाउन खोज्नु विधानसम्मत हुँदैन ।’

सांसद पहारीले मुलुकको विकास र समृद्धिलाई प्राथमिकता दिनुपर्ने बेलामा पार्टीका शीर्ष नेताहरुबीच विवाद बढ्नु दुःखद् भएको बताए । ‘देशको विकास र समृद्धिलाई कसरी अगाडि बढाउने भन्नेमा बहस केन्द्रित गर्ने बेला पार्टीमा अनावश्यक विवाद निकालियो,’ उनले भने, ‘विकास,सुशासन र समृद्धिप्रतिको जनचाहनामाथि कुठाराघात गरियो ।’

माधवकुमार नेपाल पक्षले समानान्तर कमिटी गठन गरेर अवसानको बाटो रोजेको उनको आरोप छ । नेपाल पक्षले पार्टीमा समानान्तर कमिटी बनाएर झन् विवाद चर्काएको बताउँदै उनले यस्तो कार्यले राजनीतिक अवसान गराउने टिप्पणी गरे ।

विद्यार्थी राजनीतिबाटै एमालेमा रहेर विभिन्न जिम्मेवारी सम्हालेका पोखराका दिपक घिमिरेले पार्टीका शीर्ष नेताहरु बसेर केही समयदेखि पार्टीमा बढेको आन्तरिक संघर्षलाई उचितरुपमा समाधान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्