माधव नेपालले स्वीच थिच्दा, रावलको बत्ती बल्यो-ओली फिक्का


ओकेजनता डेस्क
२० चैत्र २०७७, शुक्रबार

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट देश, जनता र पार्टीको हित विपरीतका क्रियाकलाप भएको भन्दै पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढताका साथ एकताबद्ध रुपमा संगठित भइ देशव्यापी रुपमा सक्रिय हुन नेता कार्यकर्तामा आह्वान गरेको छ ।

सो समूहका खनाल–नेपालसहितका ११ नेताले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने ओलीको निर्णय पार्टीको विधान विपरीत स्वेच्छाचारी काम भएको ठहर गरिएको छ ।

‘प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पु¥याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पु¥याउने विभिन्न कामहरु भए । भ्रष्टाचार र अनियमित कार्यहरुको चाङ लाग्न थाल्यो ।

देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका सबै मान्यताहरु भत्किन थाले । त्यसो नगर्न पार्टीका बैठकहरुमा उहाँलाई–पटकपटक सचेत गराइयो । तर नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी वाह्य शक्तिसँग साठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिष्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो,’ विज्ञप्तिमा भनिएको छ । यस्तो कार्यका विरुद्ध आवाज उठाउनु २००६ सालदेखि नै देशभक्तिको झण्डा उठाउँदै आएको कम्युनिष्ट पार्टीका सबै इमान्दार सदस्यहरुको कर्तब्य भएको विज्ञप्तिमा उल्लेख छ ।

सत्ता, शक्ति र स्रोतको उन्मादले ग्रसित केपी शर्मा ओलीद्वारा पार्टी विभाजनको रेखालाई फराकिलाे बनाउने दुराशयबाट नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित वरिष्ठ नेता कमरेड माधव कुमार नेपाल, उपाध्यक्ष कमरेड भीम रावल, उपमहासचिव कमरेड घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य कमरेड सुरेन्द्र पाण्डेलाई अनेक झुठा आरोप लगाउँदै कारवाही गरिएको भनिएको छ । त्यो ओलीको को पार्टीभित्र चर्काउने दुराशयको हिस्सा रहेको खनाल–नेपाल पक्षको निष्कर्ष छ ।

पार्टी विधान विपरितको यस्तो स्वेच्छाचारी कार्य पार्टी भित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा(एमाले) लाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै निरन्तरता भएको समूहको ठहर छ ।

 

प्रतिक्रिया दिनुहोस्