ओलीलाई फाइदै फाइदा, प्रतिपक्षी दलमा यस्तो देखियो


ओकेजनता डेस्क
१९ चैत्र २०७७, बिहीबार

काठमाडौं । वैकल्पिक सरकार निर्माणका विषयमा सत्ताइत्तर दलहरु आरोप–प्रत्यारोपमा रुमलिएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच वैकल्पिक सरकार निर्माणको बाधक एक अर्कालाई देखाउने प्रतिस्पर्धा देखिएको छ ।

विहीबार बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठक काँग्रेस र जसपामाथि प्रश्न तेर्स्याउँदै सकियो । काँग्रेस र जसपा अविश्वास प्रस्ताव दर्ताका लागि अग्रसर नभएको भन्दै समर्थन फिर्ताको निर्णयमा पुग्न नसकिएको माओवादी केन्द्रको निष्कर्ष छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘फेरि पनि संसद् विघटन हुने कार्य सकेसम्म नहोस् भनी समर्थन फिर्ता नलिएको हो । यो सरकार राख्‍ने कि अविश्वासको प्रस्ताव पेस गर्ने ? त्यसका लागि काँग्रेस र जसपा प्रस्ट हुनुपर्छ ।’

अहिलेसम्म काँग्रेस र जसपा प्रष्ट हुन नसकेको माओवादी केन्द्रको गुनासो छ । ‘यो सरकारलाई माओवादी केन्द्रले समर्थन छैन भनी लेखेर नदिएका कारण काँग्रेस र जसपाले निर्णय नगरेको होइन,’ श्रेष्ठले भने, ‘आफ्नै दृष्टिकोणका आधारमा उनीहरुले निर्णय गर्नुप-यो ।’

ओली सरकारलाई समर्थन नभएको भने पनि काँग्रेस र जसपा प्रष्ट नहुँदा प्राविधिक कारणले मात्रै पत्र नलेखेको माओवादी नेता श्रेष्ठको भनाइ छ । स्थायी कमिटीको बैठकले काँग्रेस र जसपाले स्पष्ट निर्णय नगर्दा ओली सरकार कायम रहेको जनाएको छ ।

आक्रोशित मुद्रामा श्रेष्ठले ओली सरकारमा जाने इच्छा भए जान पनि आग्रह गरे । ‘केपी केपीलाई समर्थन गर्न मन भए गरे हुन्छ, केपी ओलीको सरकारमा जान मन भए गए हुन्छ । तर, प्रष्ट निर्णय हुनुप¥यो । प्रमुख प्रतिपक्षी पार्टीले प्रष्ट निर्णय गर्छ भन्‍ने विश्वास छ,’ श्रेष्ठले भने ।

तर, माओवादी केन्द्रले काँग्रेसको निर्णय कुरेर समर्थन फिर्ता नलिए पनि काँग्रेस पनि तत्काल निर्णय लिने मुडमा छैन । भोलि (शुक्रबार) बस्ने केन्द्रीय कार्यसमिति बैठकमा वैकल्पिक सरकार निर्णयको एजेण्डा पनि छैन ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार भोलिको बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेस गर्ने एजेण्डा छ । छानविन समितिले क्रियाशील सदस्यतासम्बन्धी महाधिवेशन कार्यतालिका हेरफेर गर्ने उनले जानकारी दिए ।

बैठकको ठोस एजेण्डा नभएपछि समसामयिक राजनीतिक विषयमा छलफल भने खड्को भनाइ छ । काँग्रेस उपसभापति विमलेन्द्र निधिले समसामयिक राजनीतिक विषयमा छलफल भए पनि कुनै निर्णय लिने अवस्था नरहेको बताए ।

‘नेपाली काँग्रेसको लाइन क्लियर छ । काँग्रेसलाई माओवादी केन्द्र र जसपाले साथ नदिएपछि सरकार गठनका लागि संख्या पुग्दैन,’ निधिले भने ‘काँग्रेसले वैकल्पिक सरकारका लागि तयार छौं भनेर केन्द्रीय कमिटीबाट निर्णय लिनुपर्दैन ।’

यद्यपि नेपाली काँग्रेस सरकार बनाउन तयार रहेको निधिको भनाइ छ । ‘हामी सरकार बनाउन तयार छौं । तर, माओवादी केन्द्र र जसपा तयार छैन । काँग्रेस केन्द्रीय कमिटीको निर्णयबाट प्रधानमन्त्री बनिन्छ र ?’ निधिको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्