खनाल-नेपाल पक्षकै नेताको यस्तो सुझाव, एमाले नयाँ शिरामा


ओकेजनता डेस्क
१९ चैत्र २०७७, बिहीबार

कैलाली । नेकपा एमालेमा देखिएको शक्ति संघर्ष र कारवाही प्रक्रियाबारे विभिन्न कोणबाट व्याख्या एवं विश्लेषण भइरहेको छ ।

कतिपयले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावलमाथि गरेको कारवाहीलाई स्वाभाविक भनेका छन् भने कतिपयले यस्तो कारबाहीले एमालेमात्र नभई कम्युनिस्ट आन्दोलनलाई नै धक्का लाग्ने टिप्पणी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा भीम रावल एमालेका प्रभावशाली नेता मानिन्छन् । माधव नेपाल पक्षमा रहेका रावललाई नेता नेपालसँगै ६ महिनाका लागि निलम्बन गरिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतामाथि कारवाही गरेका हुन् ।

नेताद्वय नेपाल र रावलमाथिको कारवाहीलाई सुदूरपश्चिम प्रदेशका माधवकुमार नेपाल पक्षका कार्यकर्ताले कडा आलोचना गरेका छन् । पार्टी अध्यक्ष ओलीले पूर्वाग्रही ढङ्गले विधानविपरीत नेताद्वय नेपाल र रावलमाथि कारवाही गरेको उनीहरुको टिप्पणी छ ।

अदालतको आदेशअनुसार नेकपा एमाले पूर्ववत् अवस्थामा फर्किसकेपछि पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट बनाएर लैजानुको सट्टा नेतृत्वले नवौं महाधिवेशनबाट चुनिएर आएका व्यक्तिहरुलाई उल्टै कारवाही गर्न थालेको उनीहरुको भनाइ छ ।

कैलालीको गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत पार्टी एकीकरण हुँदा विधि, विधान र पद्धतिलाई अनुशरण गरेर अघि बढेको भए अहिलेको समस्या उत्पन्न नै हुन पाउँदैनथ्यो भन्छिन् ।

 

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपामा केपी ओलीले जुन गल्ती गर्दा पार्टी एकता भत्कियो, अहिले त्यही गल्तीलाई एमालेमा पनि दोहो¥याउने प्रयत्न गरेको उनको भनाइ छ । नेकपा एमालेमा लामो समयसम्म त्याग, बलिदान गरेका नेतालाई कारवाही गर्नु ठिक नभएको उनले बताइन् ।

नेताद्वय नेपाल र रावलमाथि भएको कारवाहीका कारण सुदूरपश्चिमका पार्टीका आम नेता तथा कार्यकर्ता दुःखी भएको बताउँदै उनले यसरी काम गर्दै जाने हो भने पार्टी धेरै दिन टिक्न नसक्ने प्रस्ट पारिन् । ‘यो त तानाशाही प्रवृत्ति हो, आफुभन्दा बाहेक अरुलाई नमान्ने, पार्टीको विधि, विधानभन्दा बाहिर गएर काम गर्ने, जनताले दिएको झण्डै दुईतिहाई बहुमतलाई कुल्चेर हिँड्नेजस्ता कुरा चानचुने होइन,’ उनले भनिन्, ‘अझै पनि केही बिग्रिएको छैन, विगतमा सबैले गल्ती गरेका थिए, सबैले आत्मालोचना गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजान भूमिका निर्वाह गर्नुपर्ने हो ।’

‘केपी प्रवृत्ति’का विरुद्ध पार्टीमै रहेर माधव नेपाल र भीम रावलले अन्तर्सङ्घर्ष गर्नुपर्ने उनको सुझाव छ । ‘पार्टी कसैको पेवा होइन, आज केपी छन् भने भोलि माधवकुमार नेपाल वा अरु कोही हुन सक्छन्,’ उनले भनिन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टीलाई एक ढिक्का बनाएर लग्न चुकेको बताउँदै उनले यही कारण अबको चुनावमा एमालेको नाममा भोट माग्न लाज लाग्नेमात्र नभएर पार्टीको नराम्रो पराजय हुने दावी गरिन् । उनले लामो समयदेखि पार्टीमा योगदान गरेका नेताहरुलाई कारवाही होइन, एकजुट बनाएर अघि बढ्न सके नेकपा एमाले पुरानै अवस्थामा फर्किने बताइन् ।

उपप्रमुख कडायतले माधव नेपाल र भीम रावललाई विधि, पद्धति अनुसार नभई एउटा गुटले मनोमानी ढङ्गले आवेग र रिसका कारण कारवाही गरेजस्तो देखिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्