प्रधानमन्त्री ओलीसंग यसकारण हच्कियो माओवादी केन्द्र


ओकेजनता डेस्क
१९ चैत्र २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक देखिएको माओवादी केन्द्र अविश्वासको प्रस्ताव ल्याउन भने हच्किएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सरकार गठनमा खासै चासो नदिएपछि माओवादी केन्द्र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हच्किएको हो ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीविरुद्ध चाँडै नै अविश्वासको प्रस्ताव ल्याउने आइतबार बताएका थिए । उनले नयाँ सत्ता समीकरण मिलाउन काँग्रेस र जसपासँग दुई दिनसम्म गरेको छलफल सकारात्मक नभएपछि माओवादी अविश्वासको प्रस्ताव ल्याउने योजनाबाट पछि हटेको हो ।

माओवादी केन्द्र स्थायी कमिटी सदस्य एवम् प्रमुख सचेतक देव गुरुङले ओली नेतृत्वको सरकार कामचलाउ भइसकेकाले तत्कालै अविश्वासको प्रस्ताव ल्याउन जरुरी नभएको बताए । उनले विधि अनुसार यही चैत २३ गतेसम्म प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बताए ।

अहिले सरकारको नेतृत्वको गरिरहेका व्यक्ति कुन विधिले चलिरहेका छन् भन्ने प्रश्न उठेको गुरुङको भनाइ छ । फागुन २३ गते सर्वोच्च अदालतले दल विभाजनको फैसला गरेपछि सरकार अल्पमतमा परेको उनी बताउँछन् ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्