आगामी निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर जाने


ओकेजनता डेस्क
१७ चैत्र २०७७, मंगलवार

काठमाडौं । अब आउने निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर जाने भएका छन् । अहिले राजनीतिमा देखिएको परिणाम भन्दा निर्वाचनको माहोल फरक हुने एमाले नेता लालबाबु पण्डितले बताए ।

हाल मुलुकमा भइरहेको राजनीतिक माहोलले निर्वाचनलाई कुनै समस्या नपार्ने उनको बुझाइ छ । पण्डितले भने, ‘निर्वाचनमा वामपन्थीहरुको विजय एकताले मात्रै सम्भव छ, यदि एकता भएन भने कम्युनिष्टले नराम्रो हार व्यहोर्नुपर्ने हुन्छ ।’

अहिले एमालेमा देखिएको तिक्तता बिस्तारै समाधान हुँदै जाने उनको भनाइ छ । एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णय आगामी केन्द्रीय कमिटीको बैठकमा एजेण्डा बन्ने पण्डितले बताए । बाहिर बसेर कराएर समस्याको समाधान नहुने भन्दै पण्डितले बैठकमा असहमति राख्न पाइने बताए ।

यता, पार्टी कमिटीका अधिकारहरु आफूमा केन्द्रित गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि अनुशासनको कारबाही थालेका छन् । उनले २३ फागुनयता भएका एकलौटी निर्णय खारेज गर्नुपर्ने मागसहित समानान्तर गतिविधि गर्दै आएको समूहका नेता माधवकुमार नेपाललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेका हुन् ।

पार्टीका वरिष्ठ नेता नेपालसँगै उपाध्यक्ष भीम रावललाई पार्टीको सबै जिम्मेवारीका साथै पार्टी सदस्यबाटै ६ महिना निलम्बन गरिएको छ भने उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएका छन् ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलासँगै पुनर्स्थापित एमालेका अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो समूहका नेताहरु मात्र सहभागी बैठकबाट नवौं महाधिवेशनबाट पास भएको पार्टी विधान संशोधन गर्नुका साथै रामबहादुर थापा बादलसहित २३ माओवादी केन्द्रका नेताहरुलाई केन्द्रीय सदस्यको मनोनयन र नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्