कोरोनाको दोस्रो लहरमा अपनाउनुपर्ने सावधानी यस्तो छ


ओकेजनता डेस्क
१६ चैत्र २०७७, सोमबार

काठमाडौं । छिमेकी राष्ट्र भारतका केही प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुनः तीव्ररूपमा बढिरहेको सन्दर्भ र नेपालमा पनि केही दिनयता दैनिक नयाँ सङ्क्रमित बढेको तथ्यले नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर आउने निश्चित छ ।

तर, यसलाई नियन्त्रण गर्न नेपालको स्वास्थ्य सेवा, क्षमता र मनोबल पहिलेको भन्दा सुदृढ भएको छ । त्यसलाई कोरोनाविरुद्धको खोपले थप सहयोग पु¥याएको छ । सम्भाव्य दोस्रो लहरप्रतिको सतर्कता र तयारीमा पनि स्वास्थ्य मन्त्रालयले पहल लिएको देखिन्छ ।

अहिलेको अवश्यकता भनेको हिजो अपनाइएका र अपनाउन छुटेका प्रभावकारी उपायहरूलाई सरकार र आम नागरिकले अविलम्ब अवलम्बन गर्नु हो । दोस्रो लहरको सामना गर्ने मूल रणनीति पहिलेझैँ ‘ब्रेक द चेन, स्ट्याम्प द फायर’ नै हुनुपर्छ ।

अर्थात् सङ्क्रमणको शृङ्खलालाई भङ्ग गरी बिस्तारित हुन नदिने र जहाँ सङ्क्रमितहरू फेला परेका छन्, त्यहाँ टेस्ट, ट्रेस र ट्रिटको अभियानलाई तीव्रता दिएर सङ्क्रमितहरूलाई समुदायको सम्पर्कबाट हटाउने हो ।

काठमाडौँजस्तो अत्यधिक सङ्ख्या डेरामा बस्ने मानिसहरु भएको ठाउँमा हिजोको गल्तीको मूल कारण अस्पतालमा कोभिडका रोगीहरूका लागि यथेष्ट बेड नहुनु हो । होम आइसोलेसनमा बस्न नसक्नेहरूका लागि सामुदायिक आइसोलेसन केन्द्रहरूको कमी थियो ।

साथै, रोगीहरु यथाशीघ्र अस्पताल पुग्नका लागि यातायातको पनि ठूलो समस्या रह्यो । भौतिक दूरी, मास्कको प्रयोग, साबुनपानीले हात धुने र सेनिटाइजर प्रयोग गर्ने ‘ब्रेक द चेन’को निरोधक पक्ष हो भने परीक्षण, सम्पर्क व्यक्तिको पहिचान र उपचार कोरोनाको लक्षण देखापरेका व्यक्तिहरूको व्यवस्थापन हो ।

त्यसका साथै अब समस्याको सही चरित्र ठम्याउन अनुसन्धानको पक्षलाई पनि सँगसँगै लैजानुपर्ने छ । स्वास्थ्य मन्त्रालय र नेपाल स्वस्थ्य अनुसन्धान परिषद्ले यसबारे ध्यान दिनु आवश्यक छ ।

उदाहरणका लागि अहिले काठमाडौँ र कास्की जिल्लामा सङ्क्रमित बढेको देखिन्छ । सरकार र डब्ल्यूएचओले यो बढेको सङ्ख्या बाहिरबाट आयातीत व्यक्तिहरू हुन् कि भित्रकै समुदायमा फेला परेका हुन्, छुट्याएर जानकारी दिनुपर्छ ।

बाहिरबाट आएका व्यक्तिहरूको मात्रै हो भने सङ्क्रमण छिटो नियन्त्रण हुन सक्छ । समुदायभित्रै बढ्न थालेको हो भने रोकथाम, परीक्षण, क्वारेन्टाइन र आइसोलेसनदेखि अस्पतालको उपचार क्षमतासम्म सबैलाई ‘हाई अलर्ट’मा राख्नुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्