झलनाथलाई राष्ट्रपति बनाउने सहमति


ओकेजनता डेस्क
१६ चैत्र २०७७, सोमबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्रपति बनाउनेबारे गृहकार्य शुरु भएको छ । एमालेभित्रको विवाद समाधान गरी नयाँ शिराबाट अगाडि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीले खनाललाई राष्ट्रपतिको जिम्मा सुम्पिने तयारी गरेको एमाले निकट स्रोत बताउँछ ।

प्रधानमन्त्री ओली सरकार चलाउने र राष्ट्रपति विद्यादेवी भण्डारीलाई आउँदो महाधिवेशबाट अध्यक्षको जिम्मेवारी दिने तयारी भइरहेको स्रोत बताउँछ । पछिल्लो समय प्रधानमन्त्री ओलीको कटु आलोचकको रुपमा उत्रिएका खनाल अहिले मौन बसेका छन् ।

प्रधानमन्त्री ओलीले उहाँलाई असञ्चो भएको भन्दै काःरबाहीबाट पछि छुट दिएका थिए । एमालेलाई एकढिक्का बनाउनका निम्ति तल्लो तहका नेताहरुको दबाब बढेपछि प्रधानमन्त्री यो गृहकार्यमा जुटेका छन् । अहिले अर्का नेता माधवकुमार नेपाल र भीम रावललाई के गर्ने भन्नेबारे पार्टीमा छलफल भइरहेको ओली निकट एक नेताको भनाइ छ ।

धेरै नेता, कार्यकर्ताहरुले नेपाल र रावललाई ६ महिनाका लागि पार्टीबाट निष्कासित गर्नुपर्ने धारणा राखेको स्रोत बताउँछ । यद्यपि फागुन २८ गते प्रधानमन्त्री ओलीले गरेको निर्णय स्वीकारेर आए पार्टीमा भित्र्याउन सकिने ओली पक्षको भनाइ छ ।

यता, नयाँ सत्ता समीकरणको प्रक्रिया अगाडि बढाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अनिच्छा देखाएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनमा जानुपर्ने अडानलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मौन समर्थन जनाएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापित भएको एक महिना बितिसक्दासमेत एमालेबाहेकका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बीचमा नयाँ सत्ता समीकरणका लागि साझा सहमति जुटन सकेको छैन । पछिल्ला दिनमा त तीन दलबीच संवाद नै टुटेको छ ।

एमालेबाहेकको नयाँ सरकार गठनका लागि जसपा नै निर्णायक शक्ति देखिएको छ । तर, जसपाभित्र नै कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन सकस परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्