नेपालमा यस्तो देखियो कोरोनाको दोस्रो लहर


ओकेजनता डेस्क
१५ चैत्र २०७७, आईतवार

काठमाडौं । नेपालमा केही महिनायता कोरोना संक्रमणको दर घटेको छ । यो हाम्रा लागि खुसीको कुरा हो । धेरै मुलुकहरूले खोप लगाउन पाएका छैनन् । नेपालमा भने केही व्यक्तिलाई खोप लगाउने अवसर पनि जुट्यो । सुरुवाती दिनहरूमा कोरोनाविरुद्धको खोप दिँदा हाम्रा लागि खुसीको कुरा थियो ।

तर, अब जनस्वास्थ्य सुरक्षाका प्रावधानहरूलाई अभ्यास गर्न पटक्कै छाड्न हुँदैन । किनभने, संक्रमणको दरमात्र घटेको हो, संक्रमणको जोखिमबाट हामी मुक्त भएका छैनौँ । संसारका कुनैपनि देशले संक्रमणबाट मुक्त भइसकेका छौँ भनेर दाबी गर्न सकेका छैनन् । कतिपय देशमा संक्रमण शून्यमा आइसक्दा पनि फेरि नयाँ केसहरू देखिएका छन् ।

ती देशहरूमा जनस्वास्थ्यका मापदण्डको अभ्यास गर्दागर्दै पनि संक्रमण पुनः देखिएको छ । कतिपय देशहरूमा लापरवाहीको कारणले कोरोना संक्रमण दर बढेको छ । विदेशमा संक्रमण दर घटेर पुनः बढेका धेरै उदाहरण छन् । त्यसैले, हामीले सर्तकता नअपनाइकन खुलेआम हिँड्ने बेला भएको छैन ।

नेपालमा पहिला संक्रमित धेरै केसहरू आयातीत थिए । त्यसैले आयातीत संक्रमितका स्रोतहरू पहिचान गर्न सजिलो थियो । अहिलेको अवस्थामा संक्रमणका स्रोतहरू समूदायमै स्थापित भइसकेका छन् । को संक्रमित छ, को संक्रमित छैन भनेर पहिचान भएको छैन । त्यसैले अझ बढी सर्तकता अपनाउनु पर्छ ।

लकडाउन मात्रै नभएर क्वारेन्टिनको व्यवस्थापन गर्न सकेनौँ । सरकारले संक्रमितहरुको आइसोलेसन राम्रोसँग व्यवस्थापन गर्न सकेन । होम आइसोलेशनको नीति बनायौँ, त्यसको अनुगमन हुन सकेन । होम आइसोलेसनबाट संक्रमण बढ्यो कि घट्यो भनेर निगरानी भएन । यी विविध गल्तीहरूबाट नै गम्भीरताका साथ पाठ सिकेर अगाडि बढ्ने भने हो हामीसँग अवसरहरू छन् ।

हामीले पहिल्यैदेखि अलिकति लापरवाही ग¥यौं । पछिल्लो समय खोप आइसकेपछि सायद हामी खोपप्रति विश्वस्त भयौं कि ? हिजोआज आम नागरिकहरूले सुरक्षाका अभ्यासहरू पालना गरेका छैनन् । त्यसैले नेपालमा दोस्रो लहरको तरङ्ग आउन सक्छ ।

अहिले हामीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छैनौँ । सरकारले कन्ट्याक्ट ट्रेसिङ गर्न छाड्यो । क्वारेन्टिनको राम्रो व्यवस्थापनि छैन । एक सातायता संक्रमणको दर बढिरहेको छ । यसले के संकेत गर्छ भने नेपालमा पनि अर्को लहर देखापरेको त होइन?सबैको मनमा प्रश्न खडा भएको छ । सरकारले बढी भिडभाड र नागरिकले नियमको उल्लंघन गरेमा लकडाउन गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्