सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिँदै


ओकेजनता डेस्क
१४ चैत्र २०७७, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताए ।

केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको बताउँदै अबको राजनीति जतासुकै गए पनि आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन कुर्न नसक्ने प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘हिजो असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथीहरुले हत्त न पत्त समर्थन फिर्ता नलिनुस् है भनेर जबरजस्त दबाव छ ममाथि । जबरजस्तै छ । मैले नाम चाहिँ भन्दिनँ, कसैको हत्त र पत्त समर्थन फिर्ता लिइस् भने झन् उल्टो पर्छ है भन्ने छ ।’

प्रचण्डले थपे, ‘मैले भनिराखेको छु, नैतिक र राजनीतिक ढङ्गले म अब धेरै दिन पर्खिन सक्दिनँ । मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई मैले समर्थन गर्न सक्दिनँ । चाहे राजनीति जतासुकै जाओस्, मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्छ । म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु ।’

अहिलेको राजनीतिक संकटको निकासका लागि संसद विघटनपछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति होस् अनि सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर नै अहिलेसम्म दाह्रा किटेर समर्थन कायम राखेको प्रचण्डले बताए ।

संसद विघटनविरुद्ध सडकमा गएका दलहरुबीच अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी पर्खेको प्रचण्डले बताए । उनले भने, ‘मेरो कोशिस के हो त भने कमसेकम यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरु, जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौं, ती राजनीतिक दलहरूका बीचमा अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी होस् ।’

यता, कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओली नेतृत्वको सरकारलार्ई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताए । उनले ओली प्रधानमन्त्री भएकै दिनदेखि नै आफूहरुले विश्वासको मत नदिएको बताए ।

प्रधानमन्त्री ओली विश्वासको मत लिन संसदमा आए काँग्रेसले मत दिन नसक्ने बताउँदै रिजालले भने, ‘हामीले कुनै पनि हालतमा प्रमुख प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव जहाँसुकैबाट जसरी आए पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्र्छौं । अहिलेका प्रधानमन्त्रीसँग प्रधानमन्त्री भएकै दिनदेखि हाम्रो विश्वास छैन ।’

अहिले प्रधानमन्त्री ओलीको मनसाय गठबन्धनको सरकार बनाउने भन्दा पनि संसदको ठूलो दलको हैसियतमा धारा ७६ (३) अनुसारको सरकार बनाएर प्रतिनिधि सभा फेरि विघटन गरी चुनावमा जाने रहेको रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्