नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


ओकेजनता डेस्क
८ आश्विन २०७७, बिहीबार

काठमाडौं । लगातारको वर्षपछि आएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

सडकखण्ड अन्तर्गत चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।

राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । बुधबार बेलुका साढे चार बजे सोही स्थानमा पहिरो खसेको थियो ।

पहिरो पन्छाएपछि बेलुका ७ बजेदेखि यातायात सुचारु भए पनि राति पुनः पहिरो गरेर अवरुद्ध भएको हो ।

यसैगरी पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरिनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

बुधबार बेलुका पहिरो खसेसँगै अबरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा आएको होे ।

लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्