मिलेर सरकार बनाऔँ, किन ओली धाउने ?


ओकेजनता डेस्क
१४ चैत्र २०७७, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार बनाएर मधेसको मुद्दा सम्बोधन गर्ने प्रस्ताव राखेका छन् ।

बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डवलीमा गरेको कार्यक्रममा प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका हुन् ।

मधेसको अधिकार र पहिचान विरोधी प्रवृत्तिका रुपमा केपी ओली प्रवृत्ति स्थापित रहेको भन्दै उनले भने, ‘एक हप्ताभित्र हाम्रो सरकार बन्छ महन्थजी । तपाई हामी भएर (सम्बोधन) गरौं न, किन ओली कहाँ धाउनुहुन्छ ?’

मधेसका मुद्दा सम्बोधन गर्न आफूले दुई पटक संशोधन प्रस्ताव लैजाँदा पास हुन नदिने केपी ओली नै भएको उनले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई मिलेर सरकार बनाउन आग्रह गरेका छन् ।

यता, शनिबार राजधानीमा आयोजित बृहत नागरिक आन्दोलन’ को कार्यक्रममा नागरिकको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले महन्थ ठाकुरलाई भने, ‘हामी मिलौँ, हप्ता दश दिनमा तपाईं सरकारको नेतृत्व गर्नुस्, र सबै माग पुरा गर्नुस् । ओली कहाँ किन धाइ रहनु भएको छ ?’

तपाईले मलाई चिन्नु नै भएको छ, उनले महन्थ ठाकुरलाई भने, मैले संसदमा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको हो तर प्रधानमन्त्री ओलीले त्यो पास हुन नदिएको कुरा पनि तपाईंलाई थाहा छ । अनि दिनका दिन उहाँ कहाँ किन धाइ रहनु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्