बैठकमा सहभागी नभएकालाई थप संःकट, ओली पछि नहट्ने


ओकेजनता डेस्क
१४ चैत्र २०७७, शनिबार

काठमाडौं । एमाले संसदीय दलको बैठकमा अन्ततः नेपाल–खनाल पक्षका सांसद सहभागी भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा हुने बैठकमा नजाने अडान राख्दै आएकामा शुक्रबार नेपाल र भीम रावलबाहेकले उपस्थिति जनाएका हुन् । उनीहरूले पार्टीलाई पूर्ववत् अवस्थामा लगेर एकता कायम राख्नुपर्ने सुझाव दिएका थिए ।

तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि निर्णयबाट पछाडि नहट्ने अडान लिएका छन् । ‘हाम्रो पार्टीमा समूहगत र गुटगत हिसाबमा डिल कसैसँग पनि गर्दैनौं’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने, ‘व्यक्तिगत रूपमा आलोचना र गुुनासा सुन्न तयार छौं । त्यसका लागि सचेतक, उपनेता र दलको नेतालाई भन्नुहोस् । तर, गुटगत हिसाबले छलफल र कुराकानी हुँदैन ।’

दलका नेतासमेत रहेका ओलीले फागुन २८ पछिका निर्णय फिर्ता नहुने अडान सुनाए । ‘केही साथी अनुपस्थित भए पनि सबै बैठक विधिसम्मत् भएका छन्’, ओलीको भनाइ उद्धृत गर्दै मुख्य सचेतक भट्टराईले भने, ‘फागुन २८, चैत ५ र ७ गतेका निर्णयबाट पछाडि फर्किन सकिँदैन ।’

ओलीले विधान संशोधन भइसकेकाले तत्काल परिमार्जन गर्न नसकिने प्रस्ट पारेका छन् । आवश्यक पर्दा संशोधन गर्न सकिने भए पनि तत्काल त्यो सम्भव नरहेको दाबी गरेको भट्टराईले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्