जसपालाई प्रधानमन्त्री ओलीले किन रोके ?


ओकेजनता डेस्क
१४ चैत्र २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध आउनसक्ने अविश्वास प्रस्ताव वा विश्वासको मत लिन जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यको कसरत गरेका छन् ।

आफूविरुद्ध प्रतिनिधिसभाभित्र गठबन्धन हुने संकेत पाएपछि प्रधानमन्त्री ओलीले जसपाले अघि सारेका मुद्दा सम्बोधन गर्ने आश्वासनसहित सहकार्यका लागि प्रयास गरेका हुन् ।

प्रतिनिधिसभामा दलीय अंकगणितअनुसार नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा आउनुपर्छ । यी तीन पार्टीबीच सहमतिको गृहकार्य भइरहे पनि प्रधानमन्त्री ओलीले जसपालाई विभिन्न आश्वासन दिएर निष्कर्षमा पुग्न दिएका छैनन् ।

ओलीले प्रतिनिधिसभाबाट वैकल्पिक सरकार गठन नहोस् भन्ने चाहनास्वरूप खेलेको खेल सफल भए मुलुक मध्यावधि निर्वाचनमा जानेछ । ओलीले आश्वासन दिए पनि जसपाले उठाएका माग सम्बोधन गर्न त्यति सजिलो छैन । जसपाका सबै माग पूरा गर्दा प्रधानमन्त्री विवादमा तानिनेछन् । जसपाले राष्ट्रिय राजनीतिभन्दा पनि क्षेत्रीय राजनीति गरिरहेको छ ।

मुलुकलाई निकास दिन जिम्मेवारी बहन गर्न तयार रहनुपर्ने यो पार्टी विभिन्न माग राखेर सत्ताको मोलमोलाइमा लाग्दा निकास निस्कन सकेको छैन । जसपा नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको छलफल सकारात्मक भएको बताए ।

उनले कांग्रेस र माओवादी केन्द्रसँग पनि सकारात्मक छलफल भइरहेको बताए। जसपाका केही नेताको झुकाव प्रधानमन्त्री ओलीसँग छ । जसपाभित्रै डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूह भने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न इच्छुक छैन । यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्