एमालेबाट माधव नेपाल र भीम रावललाई निष्कासन ओलीको तयारी


ओकेजनता डेस्क
१३ चैत्र २०७७, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपाल र भीम रावललाई कारवाही गर्ने संकेत दिएका छन् । एमाले सचेतक विशाल भट्टराईका अनुसार नेपाल र रावलको स्पष्टीकरण कारवाही योग्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

बैठकमा ओलीले भनेका कुरा उद्धृत गर्दै भट्टराईले भने, ‘तत्कालीन वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण आएको छ । अरू दुई जना नेताको स्पष्टीकरण आउन बाँकी छ । नेपाल र रावलको स्पष्टीकरण कारवाही योग्य रहेको प्रधानमन्त्रीको भनाइ छ। यसबारे केन्द्रीय कमिटीबाटै थप निर्णय लिन्छौं भनेर उहाँले भन्नुभएको छ ।’

ओलीले नेपाल र रावलको स्पष्टीकरण अत्यन्त नकरात्मक रहेको संसदीय दलको बैठकमा बताएका थिए । ‘प्रधानमन्त्रीले भनेको शब्द यही हो । प्राप्त भएका स्पष्टीकरण नकरात्मक र कारवाहीको भागीदार छ । बाँकी दुई जनाको त्यो कोणबाट नभई पार्टी एकढिक्का राख्न मद्दत पुग्ने खालका स्पष्टीकरण आउनेछ भन्ने अपेक्षा राखेको छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ उनले भने ।

नेपाल र रावलले बिहीबार नै स्पष्टीकरणप्रति प्रतिप्रश्न गर्दै लिखित जवाफ बुझाइसकेका थिए । तर सुरेन्द्र पाण्डे र घनश्याम भुषालले भने स्पष्टीकरणको जवाफ दिएका छैनन् । नेकपा एमाले केन्द्रीय समिति बैठकले पार्टी अनुशासन उल्लंघन तथा गुटबन्दी गरेको भन्दै नेता नेपालसहित रावल, पाण्डे र भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

ओलीले कारबाहीको तयारी गरेसँगै एमालेमा अर्को बहस शुरु भएको छ । पार्टीलाई मिलाएर अगाडि लैजानुपर्ने ठाउँमा बुढाहरुले इगो साधेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्