महेश बस्नेत र रेशम चौधरीको भेटमा भयो यस्तो सहमति


ओकेजनता डेस्क
१३ चैत्र २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एक्सन प्लान’कार्यान्वयन गर्ने जिम्मेवारीमा रहँदा सधैँ चर्चामा आउने युवा नेता महेश बस्नेत र अहिले राष्ट्रिय चर्चाको शिखरमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशमलाल चौधरीबीच आज बिहान छलफल भएको छ ।

एमाले केन्द्रीय सदस्य तथा सांसद बस्नेतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीसँग डिल्लीबजार कारा गारमै भेट गरेका हुन् । पछिल्लो समय एमाले र जनता समाजबादी पार्टीबीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

जसपाका नेता बाबुराम भट्टराई र उपेन्द्र केपी ओलीलाई सत्ताबाट बर्खास्त गर्नुपर्छ भनेर लागिरहेका बेला महन्थ ठाकुर पक्ष ओली सरकारमा सामेल हुनेगरी सहमतिको अन्तिम चरणमा पुग्न लागेको स्रोतले जनाएको छ । यसैबीच बस्नेत र चौधरीको भेट भएको हो ।

यसैसाता जसपा नेता राजेन्द्र महतो र सरकारका एक शक्तिशाली मन्त्रीले समेत चौधरीलाई भेटेका छन् । ओली निकट प्रभावशाली नेता बस्नेत चौधरीलाई भेटेर धनगढीतर्फ लागेका छन् ।

हिजोमात्रै गृहमन्त्री रामबहादुर थापा बादलले थारु कल्याणकारी सभाले गरेको रेशम चौधरीको रिहाइको आन्दोलनमा सहभागी भएर प्रतिबद्धता जनाएका थिए । रेशम चौधरीले पार्टीको निर्णय मान्ने र सरकारमा सहभागी हुने संकेत गरेर वक्तव्य दिनुलाई समेत विकसित घटनाक्रमसँग जोडेर हेरिएको छ ।

पूर्व मन्त्री महेश बस्नेत गृह मन्त्रालय र सरकारी वकिलसँग समेत आवश्यक परामर्श गरी भेट्न गएको बताइन्छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चौधरीमाथिको मुद्दालाई सहज ढंगले अघि बढाउने प्रक्रिया थालनी गरेको सन्देश बोकेर कारा गार गएको बताइएको छ । बस्नेतले चौधरीलाई भेटेको स्वीकार गरेपनि थप जानकारी दिन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्