खनाल–नेपाल पक्षले निकाल्यो आफ्नो पक्षको अंकगणित, बलियो उपस्थिति !


ओकेजनता डेस्क
११ चैत्र २०७७, बुधबार

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका छन् ।

अध्यक्ष ओलीले वैधानिक रूपमा केन्द्रीय कमिटीको बैठक नराखी नेपाल समूहलाई तर्साउने र कारबाही गर्ने नियतले चार नेतालाई स्पष्टीकरण सोधेका छन् । ओलीको यस्तो रबैयाबाट रुष्ट नेपाल समूहले आफ्नो साथमा साढे तीन लाख नेता–कार्यकर्ता रहेको भन्दै ती सबैलाई कारबाही गर्न चुनौती दिएको हो ।

ओली समूहले फागुन २८ गते आफू पक्षीय केन्द्रीय कमिटीको बैठक राखेर कमिटीमा सदस्यहरू थप गरी नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेको थियो । नेपाल–झलनाथ खनाल पक्षले त्यो निर्णय अमान्य भन्दै सच्याउनुपर्ने, केन्द्रीय कमिटीको नवौं बैठकबाट पार्टीका काम अघि बढाउनुपर्नेलगायत माग राखेकै बेला ओलीले चारजना नेतालाई स्पष्टीकरण सोधेपछि विवाद उत्कर्षमा पुगेको छ ।

ओली समूहले फागुन २८ गतेको निर्णय सच्याउन नमानेपछि नेपाल–खनाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ताको भेला गरेको थियो । भेलाले एमालेभित्रै बसेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निर्णय गरेको थियो। त्यसबाट रुष्ट ओलीले नेपालसहित उनी पक्षका नेताहरूलाई तर्साउन स्पष्टीकरण सोधेका हुन् ।

नेपाल समूहले राजनीतिक रूपमै स्पष्टीकरणको जबाफ दिने तर ओलीसामु घुँडा नटेक्ने जनाएको छ । वरिष्ठ नेता नेपालले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएका बेला ओलीले जनताको बहुदलीय जनवाद (जबज) लाई तिलाञ्जली दिएका कारण जबजको असली हकदार उनी नभएको बताइसकेका छन् ।

नेपालले स्पष्टीकरणबाट आफूहरू नतर्सिने बताएका छन् । आफूनिकट अनेरास्ववियुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘के हामी केपी ओलीका अगाडि घुँडा टेक्ने बाटोमा जाने हो, आत्मसमर्पण गर्ने बाटोमा जाने हो ? कि केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन । त्यसकारण हामी केपी ओलीको कथित स्पष्टीकरणबाट तर्सिएका छैनौं, आतंकित भएका छैनौं, केपी प्रवृत्तिविरुद्ध लड्छौं ।’

नेपाल पक्षमा रहेका एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं महाधिवेशनको विधि, विधान र अवस्था हेर्ने हो भने पार्टीका सात लाख कार्यकर्तामध्ये साढे तीन लाखभन्दा बढी नेपाल पक्षमा रहेको र त्यसको पुष्टि चैत ४ र ५ गतेको राष्ट्रिय भेलाले पनि गरेको बताए । नागरिक दैनिकमा विस्तृतमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्