नेकपा बिरासत र भ्रम !


ओकेजनता डेस्क
७ आश्विन २०७७, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अझै मतमतान्तरको श्रृङ्खला कायमनै रहेको छ ।

शक्ति सन्तुलनको तारतम्य नमिल्दा एकले अर्कोलाई आरोपप्रत्यारोप गरेर चोखिने क्रम जारी छ । तैपनि जनताको जनमतले पाँच वर्षसम्म सत्ता सञ्चालनका निम्ति जिम्मेवारी दिएको नाताले केही फरक पारेको छैन ।
दुई वामघटकको एकता पश्चात नेपाली कम्युनिष्टको इतिहासमा ७० वर्षे विरासत पनि मिलेको छ । तत्कालीन समय पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले भारतको कोलकताका पाँच जनाको समुह निर्माण गरी कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

आजको दिनसम्म आइपुग्दा कम्युनिष्टभित्र निकै उतारचढाव आएको छ । विभिन्न कालखण्डमा टुट्ने फुट्ने क्रम पनि चल्यो अन्तत्वगत्व सिंगो कम्युनिष्ट एक भएका छन् ।

केही समूह भने भूमिगत र अर्धभूमिगतको अवस्थामा छन् । उनीहरुको कमजोर सांगठनिक संरचनाले मुलुकमा खासै प्रभाव परेको छैन । जंगल छाडेर मुलधारको राजनीतिमा आउनका लागि नेकपाले बारम्बार पुर्ववत मित्रहरुलाई आग्रह पनि गरिहेको छ ।

नेकपामा अझै अस्थिरतता किन ? हिजोका दिनका सहयात्री भूमिगत किन ? यी दुई विषयमाथि गम्भीर बहस छलफल गर्नु आजको आवश्यकता हो । सत्ता लिप्सामा चलेको नेपालको राजनीति शक्तिको उन्मादले सबै कुरा बिर्साउँछ भन्ने प्रशंग यदाकदा अहिले पनि देखिने गरेको छ ।

सिंगो पार्टीको इतिहासलाई दाउमा राखेर आफू पवित्र र निकै बलियो साबित गराउने खेल अहिले पनि भइरहेकै छ । पार्टीका निर्णयलाई ओझेलमा पारेर धमिलो पानीमा माछा मार्ने क्रम पनि चलेकै छ । जनताको मनोभावनामा तरंगित भएर पार्टीको भविष्य नै अन्योलमा पार्ने कसरत पनि भइरहेकै छन् ।

पार्टी एकताका बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको एकल निर्णयलाई लाखौँ कार्यकर्ताले सहजै स्वीकार गरेको सत्य जाहेर छ । आजको दिनसम्म आइपुग्दा पनि हजारौँ नेता जिम्मेवार विहीन हुँदा समेत चुइक्क बोलेका छैनन् । किनकी पार्टीमा आफ्नो भविष्य देखिरहेका छन् । तर, गुटउपगुटको पराकाष्ठाले पनि केहीलाई झस्काइरहेको छ ।

आखिर विवाद कहाँ र किन ? भन्नेमा कार्यकर्तालाई भ्रममा पारिएको छ । खास नेकपा भित्रको विवाद एकल निर्णय र विधिविधान विपरितको मनमौजी नै हो । पार्टीलाई विधिवत रुपमा सबैको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढाउन सके अहिलेको समयमा अरु दललाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने थियो । तर, ठिक विपरित सत्ता उन्मादमा रमाउने र अर्धलठ्ठकहरुलाई काखीमा च्याप्ने नियतिले सबैलाई दुःख दिने पक्का छ ।

मुलुकको विकास र बढ्दो बेरोजगारी ससस्यालाई साझा मुद्धा बनाएर अगाडि बढे जनताको मनोभावना अनुसार काम गरे सत्ताकै लागि डराइरहनु पर्ने अवस्था आउँदैनथ्यो । मात्रै गुटको अन्धकारमा रुमलिएपछि यी सबै क्रियाकलाप गरिरहनुपरेको छ ।

कोरोनाको त्राहीमामका बेला नेपाली राजनीतिक वृत्तमा देखिएको हलचल पक्कै ठिक थिएन । जनताले निकै धैर्य र सहनशीलताका साथ सहयोग गर्दा पनि सरकार भएको अनुभूति गर्न नपाउनु बिडम्बना हो ।

अझै सरकारसँग दुईवर्ष छ । मात्रै सरकार फेरबदलको चंगोलमा नफसी, जनताको जनमतले भित्तामा टाँसेका अनुहारलाई पुनः सांसदको लोगो नभिराई दुईवर्ष डटेर काम गर्ने हो भने गरेका गल्ती लुकाउने प्रशस्त मार्ग छ ।

विश्वबाट लोप भएको रेल एकदिन आउँदैमा, निर्वाचन पूर्व कागजमा नक्सा बनाउँदैमा जनताको जनमत त पाइएला तर आँशुले धिक्कार्नेछ । बरु लोकप्रियता र छलछामनै हो भने निर्वाचनको केही समयअघि यस्ता क्रियाकलाप गर्दा बेस होला की ?

प्रतिक्रिया दिनुहोस्