स्पष्टिकरणको पत्र लिएर गएकाहरुलाई भीम रावलले गेटभित्र प्रवेश दिएनन्


ओकेजनता डेस्क
९ चैत्र २०७७, सोमबार

काठमाडौं । नेकपा एमालेको शनिवार सम्पन्न केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण लिने निर्णय गर्यो ।

बैठकले पार्टीविरुद्ध गुटबन्दी गरेको,समानान्तर कमिटीहरु बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल,सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसालसंग स्पष्टीकरण लिने निर्णय गरेको थियो ।

यी नेताहरुलाई पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टीकरण पत्र बुझाएको बुझिएको छ । माधवकुमार नेपाललाई पठाएको पत्र स्वकीय सचिव नितेज पौडेल, सुरेन्द्र पाण्डेको पत्र स्वकीय सचिव सन्जिव पाण्डेले बुझेको बताइएको छ ।

नेता भीम रावलले भने पत्र बुझ्न अश्वीकार गरेको बताईएको छ । गेटबाट भित्र छिर्न नदिएपछि कर्मचारीले टोखास्थित कोलोनीको सी १४ नम्बर घरको लेटर बक्समा पत्र छिराएर फर्किएको बताइएको छ ।

घनश्याम भुसालको भने मोबाइल स्वीच अफ रहेकाले पत्र बुझाउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्