जब ओलीले आइडिया लगाए, ‘आज राती सपनीमा भगवान देखिए’


ओकेजनता डेस्क
८ चैत्र २०७७, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीबारे बजारमा अनेकौँ किस्सा छन् । उहाँ जेलमा बस्दा के गर्नुहुन्थ्यो भन्नेबारे सहयोद्धाहरूले समयसन्दर्भमा लेख्दै, बोल्दै र भन्दै आएका छन् । उहाँका उखान टुक्काको चर्चा त शिखरमै छ ।

तर, धेरैको मनमा रहेको एउटा जिज्ञासा के हो भने ओलीको दिमागमा यस्ता अनेकौँ उपाय कसरी आउँछन् ? उहाँ कुनै कुरा बोल्न पूर्वतयारी गर्नुहुन्छ या आँशु कविहरूमा झँै तत्कालै फुर्ने बेजोडको प्रतिभा छ ? यसको जवाफ उहाँकै पूर्व कार्यकर्ताले एउटा प्रसंगमा गृहनगर दमक बजारको चोकमा दिने गरेका छन् ।

कुरो हो ०६३ सालतिरको । जुन बेला माओवादी शान्ति प्रक्रियामा आएर एमाले, कांग्रेस र माओवादीको अन्तरिम सरकार बनेको थियो । ती कार्यकर्ताका अनुसार, उनीसहितको एउटा सर्वदलीय टोली समग्र झापा जिल्लाकै विकास निर्माणको योजना बोकेर काठमाडौं छि¥यो ।

टोलीले गृहमन्त्री कृष्ण सिटौलासहित झापाली सबै पार्टीका ठूला नेताहरूलाई भेटेर अर्थ मन्त्रालय र योजना आयोगमा आफ्ना योजनाहरू पार्न अनुरोध गर्दै हिँड्यो । त्यही क्रममा टोली पुग्यो बालकोट । सबैले कुरा राखे, छलफल भयो । अन्त्यमा आफ्नै गृहनगर भएकाले उनले विशेष प्रस्ताव राखे, ‘कामरेड, दमककै हेलाँमा परेको वडा भयो १९ नम्बर वडा । त्यसको लागि केही विशेष योजना ल्याउन पाए हुन्थ्यो ।’

ओलीले सोध्नुभयो, ‘के छ त सम्भावना ?’ ती कार्यकर्ताले जवाफ फर्काए, ‘अरू त खासै केही छैन एउटा पुरानो पोखरी छ, त्यसकै संरक्षण गर्ने र पर्यटकीय स्थल बनाउने हो कि !’ अब शुरु भयो परराष्ट्र सम्हाल्दै गर्नुभएका उपप्रधानमन्त्री ओलीको वास्तविक परिचय । ‘ल, मसँग एउटा आइडिया छ । त्यो लागू गर्नुहोस्, सबै पुग्छ ।’

उहाँले अगाडि भन्नुभयो– ‘के गर्नुहोस् भने पाटनको मंगलबजारमा ढुंगाका स–साना मूर्ति बनाएर बेच्छन् । गएर एउटा विष्णुको मूर्ति किन्नुहोस् । हात खुट्टाका एक एक वटा औँला भाँच्नुहोस्, नाक फुटाइदिनुस् र झोलामा लुकाई लिएर जानुस् । अनि, राति सुटुक्क त्यो पोखरीमा फाल्दिने ।

गाउँकै बूढा बाहुनलाई यसो २/४ रुपैयाँ दिएर भोलि बिहान चोकमा कथा भन्न लगाउने– मलाई आज राति सपनामा भगवानले दर्शन दिनुभयो । अनि यो पोखरीमा वर्षौंदेखि बेवारिस भएँ । अब उद्धार गर भन्नुभयो । ल, बाबु हो । पोखरीमा खोज, भगवानको उद्धार गर्नुपर्छ ।’

त्यसपछि उहाँले असली योजना सुनाउनुभयो– दुई÷चार जना युवालाई पहिल्यै ठिक्क पारेर राख्ने । पोखरीमा हामफाल्न लगाउने । भगवान् फेला परिहाल्छन् । उता, स्थानीय पत्रिका र रेडियोमा विज्ञापन र समाचार बनाउने ।

अनि, दमकको ऐतिहासिक पोखरीमा साक्षात् भगवान् फेला पर्नुभयो भनेर फुक्न थालेपछि मान्छेको ओइरो लाग्छ । त्यहाँ चढाएको भेटी र दक्षिणाले पोखरी मात्र होइन, पूरै वडामा जे गरे पनि पुग्छ ।

प्रतिक्रिया दिनुहोस्