प्रधानमन्त्री ओलीले रोके झाँक्रीको कारबाही


ओकेजनता डेस्क
७ चैत्र २०७७, शनिबार

काठमाडौं । नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्री पार्टीबाट कारवाही पर्दापर्दै अन्तिम समयमा जोगिएकी छन् । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि ओलीले पछि रोकेको एक नेताले बताए ।

झाँक्रीको ‘वजन नपुग्ने’ भन्दै नाम हटाउन ‘कन्भिन्स’ गरेको ती नेताको भनाइ छ । बालुवाटारमा बसेको वैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

साथै समानान्तररुपले जनसंगठन बनाउने सबै नेतालाई कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय वैठकले गरेको छ । यससँगै आजको केन्द्रीय समिति वैठक सकिएको छ ।

यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘केन्द्रीय कमिटी’ बैठकले स्थायी कमिटी पुनर्गठनको निर्णय गरेको छ ।

माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित भएको बैठकले नयाँ स्थायी कमिटी प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई दिएको छ ।

बैठकले बाँकी कार्य विभाजनका लागि १० दिनभित्र प्रस्ताव गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझीलाई जिम्मा दिएको छ ।

साथै प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको सिफारिसमा केन्द्रीय कमिटीले प्रदेश कमिटी बनाउने निर्णय गरेको छ । यस्तै सम्बन्धित जनसंगठनका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष सहअध्यक्षसहित पदाधिकारीसँग सल्लाह गरेर सम्मेलन आयोजक समिति बनाउने जिम्मा नेता रायमाझीलाई दिइएको छ ।

एमालेको विवादका कारण मुलुकको राजनीति अस्थीर बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्