काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यता, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै केही नेताहरुको राजनीति समाप्त पार्न लागेकोे बताएका छन् ।
बालुवाटारमा शुरु भएको आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपालको राजनीति सकिँदै गएको दाबी गरे ।
‘अब हामी एमालेलाई शुद्धीकरण र सुदृढीकरण गराउँदै लैजानुपर्छ,’ ओलीले भने । आजकै बैठकमा पार्टी कारबाहीको एजेण्डा पनि राखिएको छ । ओलीले त्यसतर्फ संकेत गर्दै अब केही नेताहरुको राजनीति समाप्त हुने बताए ।
ओलीले आगामी निर्वाचनबाट एमालेले २०७४ सालमा वाम गठबन्धनले भन्दा धेरै मत ल्याउने दाबी गरे । ‘आगामी निर्वाचनमा हामीले दुई तिहाइ बहुमत ल्याउँछौं,’ ओलीले भने ।
त्यस्तै, फागुन २८ मा केन्द्रीय समिति बैठक अध्यक्ष र महासचिव पदबाहेक अन्य पद पदाधिकारीको पद खारेज गरेका ओलीले केही जिम्मेवारी समेत हेरफेर गरेका थिए ।
ओलीले एक पक्षीय रुपमा बैठक बोलाएर विधान विपरितको निर्णय गरेको भन्दै नेपाल समूहले विरोध गर्दै आएको छ भने आजको केन्द्रीय समिति बैठक पनि बहिस्कार गर्ने शुक्रबार नै निर्णय गरेको थियो ।
ओलीले भने केन्द्रीय समिति बैठकमा सहभागी हुन सार्वजनिक रुपमै खनाल–नेपाल समूहलाई आग्रह गर्दै आएका थिए ।