रकम अभावले संकलन केन्द्र अलपत्र


ओकेजनता डेस्क
७ आश्विन २०७७, बुधबार

काठमाडौं । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा निर्माण थालिएको तरकारी संकलन केन्द्र अलपत्र परेको छ ।

किसानले उत्पादन गरेका फलफूल तथा तरकारीजन्य वस्तुको सहज संकलन र बिक्रिका लागि निर्माण गर्न लागिएको संकलन केन्द्रको कामले निरन्तरता नपाउँदा अलपत्र भएको हो ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटस्थित बागबजारमा एकवर्ष अघिबाट सञ्चालनमा आउने भनिएको तरकारी संकलन केन्द्रको काम पुरा नभएरै रोकिएको छ ।

खलंगा बजार र आसपासका किसानले उत्पादन गरेका तरकारीजन्य वस्तुलाई लक्षित गरि निर्माण गर्न लागिएको संकलन केन्द्रको मेसिनरी वाल र फिल्ड निर्माण बाहेक बाँकी सबै काम पुरा नभएरै अलपत्र भएको छ ।

मुसिकोट बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर सडक आसपासमा तरकारी व्यवसाय गर्दै आएका साना व्यवसायीलाई समेत लक्षित गरी निर्माण गर्न लागिएको तरकारी संकलन केन्द्रको काम आर्थिक अभावले अलपत्र परेको मुसिकोट नगरपालिकाको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षको असारदेखि नै सञ्चालनमा आउने भनिएको तरकारी संकलन केन्द्र निर्माणमा साविकको कृषि ज्ञान केन्द्रबाट १३ लाख अनुदान रकम र मुसिकोट नगरपालिकाबाट ११ लाख गरि २४ लाख छुट्याइएको थियो ।

तर सो रकमले संकलन केन्द्रको मेसिनरी वाल र फिल्ड निर्माण बनाउनु बाहेक शतप्रतिशत काम बाँकी रहेको छ ।

मुसिकोट नगरपालिकाले भने अलपत्र अवस्थामा रोकिएको तरकारी संकलन केन्द्रको कामका लागि जसरी भएपनि बजेट व्यवस्थापनको स्रोत जुटाएरै निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्