भीम रावलसँग प्रधानमन्त्री किन रिसाए


ओकेजनता डेस्क
६ चैत्र २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली नझुक्ने र छुट्टिने राणनीति अख्तियार गर्दै अगाडि बढेको केही दिनयताका उनका अभिव्यक्तिेले दर्शाएको छ । कुनैपनि दुई पक्ष मिल्नका लागि दुवैले आत्मालोचना गर्नुपर्ने भएपनि यसमा सकारात्मक वार्ता हुन सकेको छैन ।

तत्कालीन समयमा नेकपा गठबन्धन बन्दा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक्लाएक्लै सहमति भएको थियो । त्यसमा सबै नेता, कार्यकर्ताले समर्थन जनाएका थिए । माओवादीसँगको एकता गराउन प्रमुख भूमिका खेलेका ओली अहिले पार्टी मिलाउन भने सक्रिय देखिदैनन् ।

एमाले खनाल–नेपाल पक्षका एक नेताका अनुसार प्रधानमन्त्री ओलीले पार्टी मिलाउन खोजेपनि उनी पेरिफेरिका केही नेताहरु फूट चाहिरहेका छन् । प्रधानमन्त्रीलाई स्वविवेकको निर्णय गर्न दिइरहेका छैनन् । एमालेमा अहिले ओली पक्ष र खनाल–नेपाल पक्षका नेता आआफ्नै अडानमा रहेका छन् । यसैबीचमा पार्टी अध्यक्ष ओलीले फागुन २८ गते एकलौटी निर्णय गरी केन्द्रीय सदस्य र प्रदेश ईञ्चार्ज तोकेका छन् । यसमा खनाल–नेपाल पक्ष रुष्ट बनेको छ ।

प्रधानमन्त्री ओली एमालेका उपाध्यक्ष भीम रावलसँग चिडिएको केही नेताहरु बताउँछन् । एक ताका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा रावलविरुद्ध खनिएका थिए । उनले पापाराजी, लेडी डाइनाको उदाहरण दिँदै रावललाई अनेकथरी भनेका थिए ।

चैत ५ गते पनि प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक चलिरहँदा यता खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला जारी थियो । खनाल–नेपाल पक्षले आफ्ना सांसदलाई बालुवाटारबाट संसदीय दलको बैठकमा हस्ताक्षर गरेर फर्कन भन्ने निर्णय गरेको थियो तर, अन्नतः नेता रावललगायतको अडानका कारण सबै सांसद फर्काइएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्