खनाल–नेपाल पक्षमा निर्णायक भीम रावल, यसकारण फर्किए सांसद


ओकेजनता डेस्क
५ चैत्र २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन हिँडेका माधवकुमार नेपाल पक्षका सांसदहरु बाटैबाट फर्काइए । नेपाल पक्षका सांसदहरुको सानेपास्थित हेरिटेज गार्डेनमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुने वा नहुने भन्ने दुई थरी धारणा व्यक्त भएका थिए ।

स्थायी कमिटी सदस्य योगेश भट्टराईलगायत केहीले प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुनुपर्ने तर्क राखे । सोही अनुसार एमाले स्थायी कमिटीमा रहेका भन्दा बाहेकका सांसदहरु तथा समिति सभापतिहरु जाने सहमति भयो ।
सोही अनुसार, गणेश पहाडी, उदया शर्मा पौडेल, कृष्णभक्त पोखरेल, दीपकप्रकाश भट्ट, कृष्णलाल महर्जन लगायतका केही सांसदहरु बालुवाटार जान निस्किएका थिए। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेका लागि बोलाइएको थियो । बालुवाटारमा जाने विषयमा मतमतान्तर चलिरहेकै थियो। कतिपय सांसद्ले बैठकमा नेतृत्वको मात्रै होइन, अन्य सांसद्को पनि अडान हुने र त्यसको पनि अर्थ हुने भएकाले बालुवाटारको बैठकमा सहभागी हुन नहुने तर्क राखिरहेका थिए ।

त्यसपछि भीम रावलले बालुवाटार जान नहुने विषयमा अडान राखेका थिए । उनी कडा रुपमा प्रस्तुत भएपछि अगाडिको निर्णय उल्टिएको एक सांसदले बताए। त्यसपछि बालुवाटार जान सानेपाबाट निस्किएका सांसद्हरुलाई फर्काइएको थियो । यता, यसअघि माधव–झलनाथ पक्षका सांसदहरुको बैठकले बालुवाटार बैठकमा हाजिर गरेर फर्कने निर्णय गरेको थियो ।

सांसद कृष्णभक्त पोखरेलले उक्त बैठकमा हाजिर लगाएर बहिस्कार गरिने जानकारी दिएका थिए । हेरिटेज गार्डेनमा फर्किएर उनीहरुले शीर्ष नेतासँग छलफलमा बसेका छन् । उता बालुवाटारमा बोलाएको दलको बैठक अझै सुरु हुन सकेको छैन । सांसदहरु बालुवाटार प्रवेश गर्ने क्रम जारी रहेका बालुवाटारबाट रातोपाटीकर्मी शम्भु दंगालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्