खनाल–नेपालको कार्यकर्ता प्रशिक्षण भेला छोडेर सबै सांसद बालुवाटार


ओकेजनता डेस्क
५ चैत्र २०७७, बिहीबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद संसदीय दलको बैठक हाजिर गर्न बालुवाटार लागेका छन् ।

माधव–झलनाथ पक्षका सांसदको बैठकले संसदीय दलको बैठकमा हाजिर लगाएर फर्किने निर्णय गरेको हो । सोही अनुसार उक्त पक्षका स्थायी समिति सदस्य बाहेका सांसद बालुवाटार गएका हुन् ।

नेकपा एमालेको (माधव–झलनाथ) पक्षका सांसदहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेको सांसद दीपक प्रकाश भट्टले जनाकारी दिए ।

बालुवाटारमा ओलीले बोलाएको संसदीय दलको बैठक अघि उनीहरु हेरिटेज गार्डेनमा भेला भएका थिए । यसअघि हिजो नेता योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलाका कारण आजको बालुवाटार बैठकमा सहभागी हुन नसक्ने जनाएका थिए ।

सांसद कृष्णभक्त पोखरेलका अनुसार नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत स्थायी समिति सदस्य बाहेकका सांसदहरु दलको बैठकमा बालुवाटार जान लागेको जानकारी दिए । उक्त बैठकमा हाजिर लगाएर बहिस्कार गरिने पोखरेलले जानकारी दिए ।

संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका थिए । एमालेमा बढ्दै गएको तिक्ततालाई कम गर्न खनाल–नेपाल पक्षमा सांसदहरु लचिलो बनिरहेका छन् ।

आजको खनाल–नेपाल पक्षको कदमलाई नेता, कार्यकर्ताले स्वागत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै संसदीय दलको बैठकको आह्वान गरेका छन् । संसदीय दलको नेताको हैसियतले उनले बैठक डाकेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्