एमाले संसदीय दलको बैठक आज, खनाल–नेपाल पक्षको यस्तो तयारी


ओकेजनता डेस्क
५ चैत्र २०७७, बिहीबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी बिहीवार विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरिएको हो ।

बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सचेतक भट्टराईले भने, “बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई पनि खबर भएको छ ।”

उनका अनुसार नेपाल पक्षका सांसदहरुले बैठकमा आउने/नआउने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, उनले सबै सांसदहरु बैठकमा आउने विश्वास व्यक्त गरे ।

आजको बैठकमा माधव–झलनाथ पक्षका सांसदहरु जाने सम्भावना भने कम रहेको छ । सो पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आजसम्म चल्नेछ ।

यता, खनाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीका हरेक बैठक बहिस्कार गर्दै आएका छन् । उनीहरुले प्रधानमन्त्रीको दम्भ नटुटुञ्जेल समस्या समाधान नहुने संकेत गरेका छन् । खनाल–नेपाल पक्ष प्रधानमन्त्री ओलीले नै पार्टी धरापमा पारेको निष्कर्षमा पुगेको छ ।

काठमाडौंमा दुई दिने राष्ट्रिय कार्यकर्ता भेला गरेर खनाल–नेपाल पक्षले खास एमालेको विधि विधान सिद्धान्तका बारेमा जानकारी दिने जनाएको छ । यता, प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा जानुको औचित्य नरहेको खनाल–नेपाल पक्षको भनाइ छ ।

सबैको प्रयासमा स्थापित लोकतन्त्रलाई ओलीले तिलाञ्जली दिन खोजेको भन्दै खनाल–नेपाल पक्ष रुष्ट बनेको छ । एकीकृत एमालेको पक्षमा आफूहरु रहेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्