रुकुममा जथाभाबी राखिए विद्युत पोल


ओकेजनता डेस्क
७ आश्विन २०७७, बुधबार

काठमाडौं । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले विद्युत सेवा विस्तारका लागि खरिद गरेका पोलहरु जथाभाबी राख्दा समस्या भएको छ ।

मुसिकोटमा निर्माण भइरहेको विद्युत सवस्टेशनका लागि पोल ल्याइएको हो । रुकुम पश्चिममा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले केन्द्रीय प्रसारणको विद्युत सेवा बिस्तारका लागि खरिद गरिएका पोलहरुको व्यवस्थापनमा लापर्वाही भएको छ ।

वितरण केन्द्रले रुकुम पश्चिमका सबै पालिकामा केन्द्रीय प्रसारणको विद्युत सेवा विस्तार गर्ने गरी खरिद गरिएका पाँचहजार बढि पोलहरु सार्वजनिक स्थानमै राखेर लापर्वाही गरेको हो ।

मुसिकोट नगरपालिका वडा नम्बर ३, को धैरेनीचौरमा निर्माण भईरहेको विद्युत सवस्टेशनको पूर्व तयारी स्वरुप केही महिनाअघि विद्युत पोल ल्याइएको थियो ।

रुकुम पश्चिमको वितरण केन्द्रले भने प्राधिकरणको जग्गा नुहँदा खरिद गरिएका पोलहरु सार्वजनिक स्थान, खुला चौर र व्यक्तिको नीजि जग्गामा राख्नुपर्ने बाध्यता रहेको बताएको छ ।

वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईका अनुसार जिल्लाका सबै पालिकामा केन्द्रीय प्रसारणको विद्युत सेवा विस्तारको तयारी भइरहेको छ ।

रुकुम पश्चिम वितरण केन्द्रले खरिद गरेका पोलहरु हाल मुसिकोट नगरपालिकाको पिपलनेटा, सल्ले, डाँग्रिचौर लगायत विभिन्न पालिकाका स्थानमा जथाभाबी छरिएर राखिएका छन् ।

४ वर्ष अघिबाट रुकुम पश्चिममा विस्तार गरिएको केन्द्रीय प्रसारणको विद्युत सेवा कम भोल्टेजका कारण अनियमित हुँदा मुसिकोटमै ३ एमभिए क्षमताको विद्युत सवस्टेशन निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्