जसपाको अन्तिम निष्कर्ष : फुटको तयारी


ओकेजनता डेस्क
३ चैत्र २०७७, मंगलवार

काठमाडौं । संसदीय अंकगणितमा निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालमा दुई धारबीच राजनीतिक द्वन्द्व बढ्न थालेको छ ।

सत्ता साझेदारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि ओली इतर राजनीतिक पक्षसँग सहकार्य गर्ने भन्नेबारे जसपा नेपालभित्र बहस चलिरहेको छ ।

जसपा नेपालले नेकपा एमालेसँग सत्ता साझेदारी गरेर अघि बढ्ने वा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ गठबन्धनका साथ सरकारमा सामेल हुने भन्नेबारे निर्णय लिन सकिरहेको छैन ।

सो पार्टीका नेताहरुले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका साथै काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सत्ता समीकरणका बारेमा छलफल गर्दै आएका छन् ।

जसपाका नेताहरुको दौडधुप पछिल्लो समय निकै बढेको छ । उनीहरु पार्टी समायोजनको विषयलाई थाँती राखेरै भए पनि कहिले बालुवाटार, कहिले बूढानीलकण्ठ, कहिले पेरिसडाँडा पुगेर सत्ता गठबन्धनबारे छलफल गर्न व्यस्त हुने गरेका छन् ।

जसपा नेपालका नेताहरुको दौडधुप हेर्दा सत्ता अन्य दलको तुलनामा उनीहरुकै प्राथमिकतामा परेको प्रस्ट देखिन्छ । यद्यपि, जसपा नेपालले ओलीलाई साथ दिने कि देउवा–प्रचण्डलाई भन्नेबारे आफूलाई प्रस्ट रुपमा उभ्याउन सकेको छैन ।

बरु पार्टीभित्र यसबारे दुई धार देखिएको छ । एउटा धारले ओलीको पक्षमा निकटता देखाउन थालेको छ भने अर्को पक्षले काँग्रेस र माओवादी केन्द्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिन थालेको छ ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको झुकाव प्रधानमन्त्री ओलीतिर देखिन्छ । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई भने काँग्रेस र माओवादी केन्द्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने पक्षमा देखिन्छन् ।

राजनीतिक विश्लेषक एवं पूर्व राजदूत विजयकान्त कर्ण भने अहिले सबै दल अलमलमा रहेको बताउँछन् । उनी भन्छन्, ‘अहिले जसपामात्र होइन, सबै दल अलमलमा देखिएका छन् । काँग्रेसमा देउवा र पौडेल पक्षका कारण अलमल, एमालेमा ओली र नेपाल पक्षका कारण अलमल, माओवादी केन्द्र आफ्ना पार्टीका नेतालाई सरकारबाट फिर्ता नबोलाएका कारण अलमलमा देखिएका हुन् ।’

जसपा नेपालमा एउटा धार महन्थ ठाकुर र अर्को धारको नेतृत्व उपेन्द्र यादवले गरेजस्तो देखिएको उल्लेख गर्दै उनले ती नेताहरुको अभिव्यक्ति हेर्दा जसपा नेपाल पनि दुई धारमा बाँडिएको भनेर बुझ्न सकिने बताए ।

अहिले सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्न सक्ने ठाउँमा पुगेका कारण जसपा नेपालले सक्रियता बढाएको उनको भनाइ छ । अर्का राजनीतिक विश्लेषक तुलानारायण साह पनि सत्ता समीकरणका लागि जसपा नेपालको महत्व बढेको बताउँछन् ।

जब सत्तामा जाने सन्दर्भमा लेनदेनको कुरा जोडतोडले उठ्ने गरेको उनको भनाइ छ । यसकै उदाहरणका रुपमा रेशम चौधरीको रिहाइबारे अघि सारिएको शर्तलाई लिन सकिने उनले बताए ।

उनले जसपा नेपालका नेताहरुको अभिव्यक्ति र क्रियाकलापले गर्दा पार्टीमा दुईटा धार रहेको संकेत गरिरहेको बताए । पार्टीमा दुई धार रहेकै कारण अहिलेको सन्दर्भमा पार्टीले स्पष्ट दिशा लिन नसकेको हो कि जस्तो लागेको उनको भनाइ छ ।

वरिष्ठ पत्रकार सीताराम अग्रहरीले जसपा नेपाल अहिलेको राजनीतिक सन्दर्भमा निर्णायक भूमिकामा भए पनि त्यसको फाइदा लिन नसकेको बताए । प्रधानमन्त्री ओलीले जसपा नेपाललाई पुनः फसाउन खोजेको उनको भनाइ छ ।

रेशम चौधरीको रिहाइलगायत केही माग अगाडि सारेर जसपा नेपालले तीन ठूला दलसँग कुरा गरिरहे पनि आफ्नै पार्टीभित्र दुई धार भएका कारण त्यसले ठोस रुप लिन नसकेको उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्