एमालेमा सहमती जुट्यो, यी शर्तमा दुवै पक्ष मन्जुर


ओकेजनता डेस्क
३ चैत्र २०७७, मंगलवार

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताहरू पार्टीभित्र देखिएको विवाद र समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्न सहमत भएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि सोमबार प्रत्यक्ष छलफल भएको छ ।

उनीहरूको छलफलले वार्ता र संवादको ढोका खुलेकाले छिट्टै सहमति हुने विश्वास नेताले गरेका छन् । यद्यपि सोमबारको छलफलमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा सहमति भने जुट्न सकेन । अध्यक्ष र वरिष्ठ नेताका साथ वार्तामा खटिएका नेताले वार्ता सकारात्मक भएको बताए ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको करिब २ घण्टा लामो छलफलमा एमालेको एकता जोगाउने विषयमा छलफल भएको थियो । एकता जोगाएर अघि बढ्न सबै पक्ष सहमत भएका हुन् । छलफलमा प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्न नेपाल समूहलाई सुझाएका छन ।

नेपाल समूहले गत २८ फागुनमा अध्यक्ष ओलीले गरेको एकपक्षीय निर्णय खारेज हुनुपर्ने सर्त अघि सारेपछि सहमति जुट्न नसकेको हो । परराष्ट्र मन्त्री समेत रहेका एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार नेपाल समूहलाई ४ र ५ चैतमा बोलाएको राष्ट्रिय भेला स्थगित गरेर ७ चैतको बैठकमा आउन भनिएको छ ।

छलफलमा सहभागी ज्ञवालीले राष्ट्रिय भेला गर्दा झन् दूरी बढ्ने भएकाले त्यस्ता भेला नगर्न आग्रह गरिएको बताउँदै दुवै समूहबीच खुलमखुला छलफल भएको बताए । वार्तालाई छलफल र सहमतिका आधारमा अगाडि बढाउने एमालेको तयारी रहेको समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्