सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री लामो समयका लागि घर फर्किँदै


ओकेजनता डेस्क
२ चैत्र २०७७, सोमबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट केही दिनमा लामो समयका लागि आफ्नै घर फर्किने भएका छन् । अहिलेसम्म सरकारी निवासमा बस्दै आएका मुख्यमन्त्री भट्ट अब भने लामै समयका लागि घर फर्किने दिन नजिकिएको छ ।

संघीय सरकारमा माओवादी केन्द्रले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सुदूरपश्चिम प्रदेशमा भने दोस्रो दल बनेको माओवादीले नै सरकारको नेतृत्व अहिलेसम्म गरिरहेको छ ।

पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा परेका हुन् । सुदूरपश्चिममा पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिएसँगै पार्टीमा १४ जना मात्रै सांसद छन् । अब एमालेले समर्थन फिर्ता लियो भने सरकारमा रहिरहन भट्टले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर संयुक्त सरकार बनाउन पर्ने हुन्छ ।

प्रदेश सभामा गठबन्धन नगरी कुनै पनि पार्टीको बहुमत नपुग्ने भएकाले मुख्यमन्त्री भट्टको पद अहिले नै संकटमा परेको हो । सरकार बनाउन कांग्रेसको पनि प्रदेश सभामा महत्वपूर्ण भूमिका हुने भएकाले माओवादी केन्द्र वा एमाले कुनसँग गठबन्धन गर्ने भन्ने विषयमा तयारी गरिरहेको कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले बताए । रावलले पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार जाने जिकिर गरे ।

यस्तै जनता समाजवादी पार्टीका प्रदेश सभा सांसद मालामती रानाले माओवादी या एमालेसँग गठबन्धन गर्नुपरे जनताको हितका लागि मात्रै गर्ने बताइन् । कसलाई सघाउने भन्ने निर्णय केन्द्रबाटै हुने उनले बताइन् ।

सुदूरपश्चिम प्रदेश सभामा माओवादीका १४, कांग्रेसका १२ र जसपाबाट २ जना सासंद छन् ।

 

प्रतिक्रिया दिनुहोस्