धुम्बाराहीमा ओलीको प्रस्ताव : ‘माधवजी तपाईं बहुमतको प्रधानमन्त्री बन्नुहोस्’


ओकेजनता डेस्क
२ चैत्र २०७७, सोमबार

काठमाडौं । एमाले पार्टी कार्यालय धुम्बाराहीमा जारी प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकारात्मक दिशामा उन्मुख भएको बताइएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले तालमेल गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले एमालेबीच एकता कायम गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् ।

प्रधानमन्त्री ओलीले माधव पक्षलाई मिलेर जानुपर्ने र आफूले के त्याग गर्नुपर्छ गर्न तयार भएको बताएका छन् । स्रोतका अनुसार बहुमतको प्रधानमन्त्री बन्न समेत नेपाललाई ओलीले प्रस्ताव गरेको स्रोतले बताएको छ । एमालेको विरासतलाई कायम राख्न आफू तयार रहेको ओलीको भनाइ छ ।

एक नेताका अनुसार आजको बैठक एमाले पुनर्मिलनको निर्णयक बन्नेछ । सिंगो पार्टीमाथि समस्या निम्तिएको भन्दै प्रधानमन्त्री ओली लचिलो भएका छन् ।

यता, नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ । छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् ।

चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि संवाद टुटेको थियो । त्यस्तै, छलफलका लागि ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त लगायत सहभागी छन् ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाललाई भने बोलाइएको छैन । नेता खनालले आफूलाई नबोलाइएकाले छलफलमा नगएको बताए । ‘मलाई बोलाइएको नै छैन । त्यही भएर म गइनँ,’ खनालले बताए । उनका अनुसार यसअघि नेता नेपालले ओलीले भेट्न बोलाएको भन्दै खनालसँग परामर्श गरेका थिए ।

छलफलमा माधव पक्षले ओलीसँगको छलफलमा विधानविपरीत गरेको नेताहरुको जिम्मेवारी हेरफेरलाई खारेज गर्न औपचारिक प्रस्ताव गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्