नेपालमै पहिलो कबड्डी प्रशिक्षण भवन कञ्चनपुरमा


ओकेजनता डेस्क
७ आश्विन २०७७, बुधबार

काठमाडौं । नेपालमै पहिलो पटक कञ्चनपुरमा अत्याधुनिक सुविधासहितको कबड्डी प्रशिक्षण भवन निर्माण भएको छ ।

व्यवस्थित र सुविधासम्पन्न कबड्डी हल पाएपछि खेलाडीहरु खुसी भएका छन् । लामो समयदेखि कबड्डी खेलका लागि उचित प्रशिक्षण भवन नहुँदा समस्या भोग्दै आएका खेलाडीहरुले नेपालमै पहिलो पटक कबड्डी प्रशिक्षण भवन पाएका छन् ।

खेलाडीको समस्यालाई मध्येनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा अत्याधुनिक डिजाइनको कबडुडी प्रशिक्षण भवन कञ्चनपुरमा निर्माण भएको छ ।

सुदूरपश्चिम सरकारका पूर्व उद्योग वन वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले भवनको उद्घाटन गर्दै खेलकुदको विकासका लागि सरकार सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

खुला आकाश मुनि प्रशिक्षण लिएर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता हटेकाले कबड्डी खेलप्रेमी समेत उत्साहित भएका छन् ।

व्यवस्थित कबड्डी प्रशिक्षण भवन नहुँदा समस्या भोगेका खेलाडीले आगामी दिनमा मेहनतका साथ खेलप्रति समर्पित हुने जनाएका छन् ।

कबड्डी प्रशिक्षण भवनको उद्घाटनका क्रममा १३ औं सार्क खेलमा महत्वपुर्ण योगदान दिए वापत विभिन्न विधाका प्रशिक्षकलाई सम्मान गरिएको थियो ।

प्रदेश सरकारको १ करोड १२ लाख लागतमा भवन निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्